बाग्मती प्रदेशले पनि साझाबाट हात झिक्यो, ३० करोड नदिने निर्णय, बस आफैले सञ्चालन गर्ने « Eglish Khabarhub

बाग्मती प्रदेशले पनि साझाबाट हात झिक्यो, ३० करोड नदिने निर्णय, बस आफैले सञ्चालन गर्ने



काठमाडौं । बाग्मती प्रदेश सरकारले आफै छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ ।

प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैं बस खरिद गरी सञ्चालन गर्ने तयारी अगाडि बढाएको उल्लेख गरेको छ ।

संघीय सरकारले सो यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको ३ अर्ब रुपैयाँ फिर्ता लिने निर्णय गरिसकेको छ । प्रदेश सरकारले सो यातायातलाई ३० करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएपनि हालसम्म उपलब्ध गराएको थिएन ।

उक्त रकमबाट विद्युतीय बस खरिदमा नै प्रयोग गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए ।

प्रदेश सरकारले बस खरिद र प्रदेशभित्रको यातायात व्यवस्थापन गर्न ‘यातायात निगम’ स्थापनाको तयारी अघि बढाएको जनाइएको छ । यसका लागि आवश्यक छलफल भइरहेको छ ।

साझालाई विद्युतीय बस खरिदका लागि ३० करोड रुपैयाँ दिने सम्झौता गत असार १६ भएको थियो । प्रदेश सरकारसँगै सोही दिन बस खरिदकै लागि काठमाडौँ महानगरपालिकाले १० करोड रुपैयाँ र ललितपुर महानगरपालिकाले २ करोड ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गर्ने सम्झौता गरेका थिए ।

यी दुबै महानगरपालिकाले साझामार्फत् नै बस खरिद गरी बस सञ्चालन गर्ने कि रकम फिर्ता लिने भनि निर्णय भने गरिसकेको छैनन् । विभिन्न स्थानीय तहले साझाको सेयर रकम खरिद गरेर विगतदेखि नै बस सञ्चालन गर्दै आएका छन् ।

Publish on: