काठमाडौं । खराब कर्जा बढेको तथा ब्याज आम्दानीमा कमी आउदा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा कमी आएको छ ।
बैंकले पुस मसान्तसम्ममा १ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ । गतवर्ष यस्तो नाफा १ अर्ब ९७ करोड रुपैयाँ थियो ।
बैंकको नाफा बढाउनको लागि चाहिने मुख्य आम्दानीको स्रोत ब्याज आम्दानी नेपाल इन्भेष्टमेन्ट बैंकको गतवर्षको भन्दा घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले गतवर्ष पुस मसान्तसम्ममा ३ अर्ब ३१ करोड रुपैयाँ ब्याज आम्दानी गरेकोमा यो वर्ष ३ अर्ब ६ करोड मात्र गरेको छ ।
यस्तै, बैंकको खराब कर्जा बढ्दा प्रोभिजनमा राख्नुपर्ने रकम बढेपछि नाफा घटेको हो । बैंकको खराब कर्जा अनुपात अघिल्लो वर्ष पुस मसान्तमा २.०४ प्रतिशत रहेकोमा यो वर्षको पुस मसान्तमा २.९० प्रतिशत पुगेको छ ।
१४ अर्ब २२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले पुस मसान्तसम्मको नाफामा सेयरधनीलाई बाड्न मिल्ने नाफा ८४ करोड रुपैयाँ भएको विवरणमा उल्लेख गरेको छ ।
बैंकको पूँजीकोष अनुपात १३.३७ प्रतिशत छ । अघिल्लो वर्ष ११.९० प्रतिशत थियो । यस्तै कर्जा निक्षेप अनुपात ७५.३९ प्रतिशत छ । बैंकले पुस मसान्तसम्ममा १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ३२ अर्ब रुपैयाँ ऋण दिएको छ ।
नाफा घटेसँगै बैंकको प्रति सेयर आम्दानी समेत घटेको छ । अघिल्लो वर्ष ३३.९९ रुपैयाँ रहेको इपीएस यो वर्ष २३.२७ मा झरेको छ ।
SHARE YOUR THOUGHTS