काठमाडौं । सर्वोच्च अदालतले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले आफूले दाइजोमा ल्याएको सम्पत्ति फिर्ता गर्नु नपर्ने भन्दै हालेको रिट खारेज गरिदिएको छ ।
जसअनुसार काठमाडौं छाउनीस्थित १५ रोपनी १ आना जग्गा नेपाल ट्रस्टको नाममा ल्याउन बाटो खुलेको छ ।
प्रेरणाका अधिवक्ता गोकुलबहादुर रोकायाले २०७५ साल पुसमा हालेको रिट दाबी नपुगेको भन्दै खारेज गरिदिएको हो ।
प्रेरणाले आफूले अन्तरिम संविधान २०६३ आउनअघि २०५८ सालमै आफूले सो सम्पत्ति दाइजोमा पाएको भन्दै संविधानसँग ऐन बाँझिएको दाबीसहित रिट दायर गरेकी थिइन् ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा संवैधानिक इजलासले खारेज गरेसँगै अब स्वर्गिय राजा वीरेन्द्रको नामको जग्गा नेपाल ट्रस्टको मातहतमा ल्याउन बाटो खुलेको हो ।
ट्रस्टको कार्यालयले गत वर्षको मंसिर २६ गते सार्वजनिक सूचना जारी गरी प्रेरणालाई सो घरजग्गा छाड्न भनेको थियो । उनी त्यसका विरुद्ध अदालत गएकी थिइन् ।
SHARE YOUR THOUGHTS