काठमाडौं । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा नेपाली संस्कृति र परम्परा झल्किने नेपाल बज्रयान महाविहार निर्माण सम्पन्न हुने भएको छ ।
लुम्बिनीमा विभिन्न देशले आ-आफ्नै शैलीका महाविहार निर्माण गरे पनि नेपाल परम्परागत बौद्ध धर्म संघ, नेपाल बज्रयान महाविहार संचालक समितिले भने नेपालको मौलिक बुद्धर्धमलाई समेत प्राथमिकता दिदैँ ०६८ सालदेखि ब्रजयान महाविहार निर्माण सुरु गरेको थियो ।
स्वदेशी अनुदानमै नेपालको कला-संस्कृति र बौद्धधर्मको पहिचानलाई विश्वासामू चिनाउने गरी उक्त महाविहार निर्माण सुरु गरे पनि निर्माण सम्पन्न गर्न केही समस्या भएपछि काठमाडौँ महानगरपालिकाले बज्रयान महाविहार निर्माणका लागि आर्थिक अनुदान दिएको छ ।
उक्त महाविहारको कलात्मक आँखिझ्याल र प्रवेशद्वार निर्माणका लागि महाविहार संचालक समितिका अध्यक्ष प्राडा नरेशमान बज्राचार्यलाई काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ४ करोड २९ लाख १८ हजारको चेक हस्तान्तरण गरेका छन् ।
चेक हस्तान्तरणपछि सम्वोधन गर्दै मेयर शाक्यले नेपाल गौतमबुद्ध र सगरमाथाको देशका रुपमा विश्वसामू परिचित भएको भन्दै लुम्बिनीमा नेपालको कला, संस्कृति र सम्पदा झल्किने गरी महाविहार निर्माणका लागि काठमाडौँ महानगरपालिकाले कार्यक्षेत्र भन्दा बाहिर गएर अनुदान दिएको बताए ।
‘हामी विश्वका जुनसुकै देश जाँदा पनि गौतमबुद्ध र सगरमाथाको देशका नागरिक हौँ भनेर गौरवका साथ भन्ने गर्छौ,’ मेयर शाक्यले भने, ‘तर, विश्वभरीबाट गौतमबुद्धको जन्मथलो लुम्बिनी घुम्न आउँदा हाम्रो परम्परा झल्किने खालको महाविहार नदेख्दा पर्यटकहरु खिन्न हुनुपर्ने अवस्था छ । विश्वबाट लुम्बिनी घुम्न आएका पर्यटक र बौद्धधर्मालम्बीहरु नेपाल बज्रयान महाविहार छिर्दा त्यहाँ नेपालको कला, संस्कृतिको झल्को पाउन सकुन भनेर हामीले विहार निर्माणका लागि अनुदान दिएका हौँ ।’
मेयर शाक्यले काठमाडौँ महानगरपालिका संघीय राजधानी भएको ठाउँको पनि महानगरपालिका भएकाले अन्य स्थानीय तहको भन्दा अलिक बढी नै जिम्मेवारी हुने भएको भन्दै अरु स्थानीय तहलाई पनि उदाहरण होस भनेर त्यहाँ अनुदान दिएको बताए ।
‘लुम्बिनी सारा नेपालीको गौरव हो,’ मेयर शाक्यले भन्नुभयो, ‘महानगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्र पर्ने अधिकांश सम्पदा पुर्ननिर्माणको कामलाई तिव्रता दिएको छ । विश्वका सामू पनि गौरव गर्ने लुम्बिनीमा नेपाल बज्रयान महाविहार निर्माणका लागि सानो रकम अनुदान दिन पाउँदा खुशी लागेको छ ।’
उनले नेपाल भ्रमण वर्ष २०२० नसकिदैँ बिहार निर्माणको कामलाई सम्पन्न गर्न आग्रह गर्दै महानगरपालिकले गरेको अनुदान रकमलाई दुरुपयोग नगर्न सुझाव पनि दिए ।
‘हामी अहिले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका छौँ । तपाईँहरुले छिट्टै निर्माण सम्पन्न गर्नुभयो भने हरेक पर्यटक लुम्बिनी घुम्न आउँदा एक पटक त्यहाँ पसेर मात्रै जानेछन्,’ उनले भने, ‘पछि थप कामका लागि पनि हामीलाई अनुदान दिन सजिलो हुन्छ । तर, अब लगानी आइहाल्यो भनेर ढिलासुस्ती गर्नुभयो भने चाँहि हामीलाई पनि नमज्जा हुन्छ ।’
उनले बज्रयान महाविहार निर्माणका लागि राज्यको पनि ध्यान गएको छ भन्ने सन्देश दिनका लागि संघीय सांसद, प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिलाई समेत साक्षी राखेर अनुदान दिएको बताए ।
पैसा अनुसार योजना होइन योजना अुनसार पैसा
मेयर शाक्यले महानगरपालिका पैसा अनुसारको योजना होइन योजना अनुसार पैसा दिन तयार रहेको भन्दै आफ्नै कार्यकालमा महानगर क्षेत्र भित्रका धेरै योजनाहरु पूरा गरि छाड्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
‘हामी काम गर्न चाहन्छौ,’ मेयर शाक्यले भने, ‘तर, एउटा समूह छ । जुन समूह महानगरपालिकाले जहाँ-जहाँ काम गर्न हात हाल्छ । त्यहाँ-त्यहाँ खोजेर मुद्धा हाल्न अदालततिर जान्छ र कामलाई अवरोध गर्छ ।’
उहाँले पछिल्लो सयम रानीपोखरी, दरबार हाइस्कुल, धरहरा, काष्ठमाण्डप लगायतका सम्पदा पुर्ननिर्माणले गति लिएको भन्दै अवरोधहरुलाई चिर्दै अघि बढ्नुको विकल्प नभएको पनि प्रष्ट पारे । ‘सम्माननीय राष्ट्रपतिज्युले पनि पुर्ननिर्माण भैरहेका रानीपोखरी, दरबार हाइस्कुल, धरहरा, काष्ठमाण्डप लगायतका सम्पदाको अवलोकन गर्नुभयो,’ उनले भने, ‘राष्ट्रपतिज्यु उत्साहित हुनुहुन्छ । उहाँले पनि कामको गतिलाई नरोक्न सुझाव दिनुभएको छ ।’
लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले पनि काठमाडौँ महानगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेको लुम्बिनीमा नेपाल बज्रयान महाविहार निर्माणका लागि सहयोग गरेको भन्दै खुशी व्यक्त गरे ।
‘लुम्बिनी र सगरमाथाको पहिचानलाई विश्वभर फैलाउन नसक्ने हो भने नेपालको पहिचान अधुरो हुन्छ,’ उनले भने, ‘त्यहि लुम्बिनीमा बन्ने बज्रयान महाविहारले अब विश्वबाट घुम्म आएका पर्यटकलाई प्रफुल्ल बनाएर पठाउने छ । हाम्रो ठाउँबाट पनि सक्दो सहयोग गर्न तयार छौँ ।’
नेपाल बज्रयान महाविहार संचालक समितिका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्यले पनि बिहार निर्माणका लागि आर्थिक अभाव नभई राज्यको उपस्थिति देखाउन महानगरसँग अनुदान लिएको बताए ।
‘हामीलाई बिहार निर्माणका लागि विभिन्न विदेशी संस्थाहरुले सहयोगको हात बढाउनु भएको थियो,’ उनले भने, ‘हामी विदेश होइन स्वदेशी लगानीमै नेपाल बज्रयान महाविहार निर्माण गर्न सक्छौँ भन्ने सन्देश दिन र नेपाली कला–संस्कृतिको जगेर्नाका लागि महानगरपालिकासँग अनुदान लिएका हौँ ।’ उनले अहिलेसम्म करीब १२ करोड खर्च भएको भन्दै अझै कतिसम्ममा निर्माण सम्पन्न होला भन्ने यकिन नभएको बताए ।
समितिका उपाध्यक्ष चन्द्रबहादुर शाक्यले करीब ३४ वर्ष नेपाल वायुसेवा निगमको जहाज उडाएको अनुभव आफूसँग भएको भन्दै आफूलाई जहाज उडाएपछि सुरक्षित अवतरण गर्नुपर्छ भन्ने हेक्का भएको भन्दै बिहार निर्माणको अनुभव सुनाए । ‘यो विहार ०६८ सालबाट निर्माण सुरु भएको हो । बिचमा धेरै अवरोध आए अब रोकिन्न । समयमै काम सम्पन्न हुन्छ ।’
SHARE YOUR THOUGHTS