काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार चालु आर्थिक वर्षको मध्यावधी समिक्षा गर्दै बजेटको आकार घटाए ।
जेठ १५ मा संघीय संसद्मा बजेट पेश गर्दा १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट पेश गरेका अर्थमन्त्री खतिवडाले मध्यावधी समिक्षामा १३ खर्ब ८५ अर्ब रुपैयाँ यो वर्ष बजेट खर्च हुने संसोधन गरेका छन् ।
करिब १० प्रतिशतले बजेटको आकार घटाएपनि अर्थमन्त्री डा युवराज खतिवडा यो आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक बृद्धिदर हुने कुरामा ढुक्क नै देखिए । उनले मध्यवधी समिक्षामा आकार घटाएपनि लक्ष्य अनुसार नै आर्थिक बृद्धिदर हासिल हुने बताए ।
विश्व बैंक,अन्तराष्ट्रिय मुद्रा कोष र एशियाली विकास बैंकले भने साढे ६ प्रतिशतको हाराहारीमा आर्थिक बृद्धिदर हुने अनुमान प्रक्षेपण गरेका छन् । अर्थमन्त्री खतिवडाले सार्वजनिक रुपमा नै विश्व बैंकका प्रतिनिधि र नेपाल भ्रमणमा आएको आइएमएफको आर्टिकल फोर मिसनसँग आर्थिक बृद्धिदरको प्रक्षेपण कम गरेकोमा असन्तुष्टी जनाउदै त्यो भन्दा बढीको बृद्धिदर हासिल गर्ने चुनौती दिएका थिए ।
सरकारले गर्ने खर्चको आधारमा निजी क्षेत्रले खर्च गरेको हुन्छ । त्यो आधारमा बजेट आर्थिक बृद्धिदरको लागि निकै नै महत्वपूर्ण हुन्छ । अर्थमन्त्री खतिवडाले करिब १० प्रतिशतको बजेट रकम घटाएर साढे ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य पुरा गर्न कठिन हुने बुझाई अर्थशास्त्रीहरुको छ ।
सरकारले चालु तर्फ बजेटमा बिनियोजन भएको बजेटको ९४.५ प्रतिशत अर्थात ९ खर्ब ४ अर्ब,पूँजीगत तर्फ बिनियोजन बजेटको अर्थात ३ खर्ब २६ अर्ब र वित्तीय व्यवस्थाको लागि बिनियोजन बजेटको १ खर्ब ५४ अर्ब अर्थात ९२.२ प्रतिशत खर्च हुने अनुमान गरेको छ ।
खर्च कम हुने भएपछि अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको लागि निर्धारण गरिएको राजस्वको लक्ष्य समेत घटाएका छन् । चालु आर्थिक वर्षमा लक्ष्यको ९५.६ प्रतिशतमा झारेका छन् । सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो । अर्थमन्त्री खतिवडाले मध्यावधी समिक्षा मार्फत राजस्वको लक्ष्यमा करिब ५० अर्ब घटाएका हुन् ।
उनले आयात बढाएर राजस्व संकलनको लक्ष्य पुरा गर्नेमा आफु नभएको भन्दै आन्तरिक स्रोतबाट राजस्व पुग्ने दाबी गरेका छन् ।
दुईतिहाईको शक्तिशाली सरकार गठन भएको दुईवर्ष अब पुग्न दुईदिन बाँकी छ । यो दुईवर्षमा नै सरकारले आफुले संसद् पेश गरेको बजेटको आकार घटाएको छ । अघिल्लो वर्षपनि सरकारले संसद्मा पेश गरेको बजेटको आकार घटाएको थियो । ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य लिएकोमा ७ प्रतिशत हासिल भएको थियो ।
अर्थमन्त्री खतिवडाले बुधबारपनि मध्यावधी समिक्षामा अर्थतन्त्रमा संरचनात्मक समस्या रहेको कुरा दोहर्याएका छन् ।
SHARE YOUR THOUGHTS