काठमाडौं । उपत्यका नगरपालिका फोरमका पदाधिकारीले सरकारसँग कोरोना संक्रमणबाट उपत्यकालाई जोगाउन निर्वाध सवारी साधन प्रवेशमा रोक लगाउनु पर्ने माग गरेका छन् ।
कोरोना भाइरस सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी उनीहरुले यस्तो माग राखेका हुन् । उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमका पदाधिकारीले संयोजक पोख्रेललाई भेटी उपत्यका भित्र निर्वाध आवत–जावतलाई कडाई गरी उपत्यका भित्र भने केही खुकुलो बनाउनु पर्ने माग गरेका हुन् ।
‘उपत्यका बाहिरका केही स्थानमा अहिले पनि कोरोना संक्रमित बढीरहेको छ । यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुन्छ,’ फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘यस्तो बेलामा उपत्यकाबाट हुने आवत–जावतमा कडाई नगर्ने हो भने त्यसले थप समस्या सिर्जना गर्न सक्छ । हामीले उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहनु भएका रक्षामन्त्री ईश्वर पोखरेलसँगको भेटमा यहि कुरा राखेका छौँ ।’
आवत–जवतलाई कडाई गरे पनि उपत्यका भित्रको चहल–पहललाई भने केही खुकुलो बनाउनु पर्ने प्रस्ताव पनि पोख्रेलसँग राखेको शाक्यले जानकारी दिए । ‘काठमाडौंबाट मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउने र बाहिरबाट पनि काठमाडौँ पठाउने होडबाजी गर्दा त्यसले झन थप समस्या हुन्छ । यसलाई कडाईका साथ रोक्नुपर्छ भनेर पनि भनेका छौँ,’ उनले भने, ‘हाम्रो मागप्रति मन्त्रीज्यु सकारात्मक हुनुहुन्छ । उहाँले समितिको बैठक र मन्त्रिपरिषद्मा समेत यी कुरा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।’
फोरमलेले केही समय अघि राहतको अभावमा उपत्यका नछाड्न उपत्यकावासीलाई आग्रह गर्दै संयुक्त अपिल जारी गरेको थियो । फोरमले यस अघि पनि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा निर्वाध रुपमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुने भन्दै त्यसो नगर्न आग्रह गरेको थियो । फोरमले कोरोना विरुद्धको लडाईँमा उपत्यकाका सबै नगरपालिका एक जुट हुने निर्णय पनि गरेको छ ।
SHARE YOUR THOUGHTS