बैंकको भन्दा बढी नाफा घरजग्गा र विद्यालय शिक्षा, सबैभन्दा कम उद्योग « Eglish Khabarhub

बैंकको भन्दा बढी नाफा घरजग्गा र विद्यालय शिक्षा, सबैभन्दा कम उद्योग



C

काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी नाफा कमाएको आरोप लाग्ने गर्छ ।

तर,सरकारी तथ्यांकले बैंकिङ क्षेत्रभन्दा घरजग्गा, शैक्षिक संस्था संचालन गर्ने तथा कृषि उपजका व्यवसाय गर्नेहरुले बढी नाफा कमाएको तथ्यांक सार्वजनिक गरेको छ ।

नेपालमा व्यवसाय गर्नेले वार्षिक २९.३ प्रतिशत प्रतिफल प्राप्त गर्ने देखिएको छ । यो भनेको एक सय रुपैयाँ लगानी गर्दा २९ रुपैयाँ ३० पैसा प्रतिफल हो ।

केन्द्रीय तथ्यांकले विभागले पहिलो पटक गरेको आर्थिक गणनाको विस्तृत प्रतिवेदनले नेपालमा रहेका व्यवसायिक फर्महरुले वर्षमा २९.३ प्रतिशत प्रतिफल प्राप्त गर्ने उल्लेख गरेको हो ।

विभागका अनुसार नेपालमा रहेका ९ लाख ९२४ वटा व्यवसायिक प्रतिष्ठानले वर्षमा ८ खर्ब ५३ अर्ब रुपैयाँ नाफा गर्ने देखिएको हो । जसमा ३१ लाख १५ हजार ११२ जनाले रोजगारी पाएका छन् ।

विभागका अनुसार सबैभन्दा बढी नाफा कृषिजन्य वस्तुको बिक्री गर्ने व्यवसायिक तथा फर्महरुले गरेको देखिएको छ । किसानहरुले लागत अनुसारको मूल्य नपाएपनि तिनले उत्पादन गरेका वस्तु बिक्री गर्ने व्यवसायीले वर्षमा ५५.७ प्रतिशत नाफा गरेको देखिएको छ ।

यस्तै शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसायले ४६ प्रतिशत नाफा कमाउने देखिन्छ । अत्याधिक नाफा हुनेमा व्यवसायमा नेपालमा शिक्षा क्षेत्र देखिएको छ । यस्तै घरजग्गा व्यवसायमा वार्षिक ४०.९ प्रतिशत नाफा हुने गरेको छ छ । यस्तै गाडी बिक्रेतहरु तथा यसको मर्मत गर्ने व्यवसायले वार्षिक रुपमा ४३ प्रतिशत प्रतिफल लिने गरेका छन् । खानी क्षेत्रमा ४२.२ प्रतिशत प्रतिफल हुने गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा ४०.५ प्रतिशत प्रतिफल हुने गरेको छ ।

नेपालमा सबैभन्दा कम नाफा उत्पादन मुलक उद्योग चलाउने क्षेत्रले देखिएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार १४.७ प्रतिशत मात्र नाफा उत्पादन मुलक क्षेत्रले लिएको छ ।

नेपालमा रहेका उद्योग तथा प्रतिष्ठानहरु वर्षमा २९ खर्ब १५ अर्ब रुपैयाँको आफ्नो वस्तु तथा सेवा बिक्री गर्ने देखिएको छ । जसमा सबैभन्दा बढी ८ खर्ब ३१ अर्ब रुपैयाँको बिक्री काठमाडौं जिल्लामा हुने गरेको छ । काठमाडौं उपत्यकाका तीनवटा जिल्लाले मात्र करिब ४२ प्रतिशत वस्तु तथा सेवाको बिक्रीको हिस्सा ओगट्ने देखिएको छ ।

Publish on: