श्रमिकलाई १२.५ प्रतिशत मात्रै तलब दिने, नपुगे सरकारले दिनुपर्ने हानको माग « Eglish Khabarhub

श्रमिकलाई १२.५ प्रतिशत मात्रै तलब दिने, नपुगे सरकारले दिनुपर्ने हानको माग



काठमाडौं । होटल एसोसिएसन अफ नेपालले कोभिड १९ का कारण होटल सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै श्रमिकलाई १२.५ प्रतिशत तलब मात्रै दिने निर्णय गरेको छ ।

हानले बिहीबार जारी गरेको विज्ञप्तीमा १२.५ प्रतिशत तलब र प्रतिष्ठानमा विगतमा मौज्दात रहेको सेवा शुल्क वापतको रकम समेत थप गरी ६ महिनासम्म दिने निर्णय गरेको उल्लेख छ ।

साथै त्यसमा अपुग रकम संघले माग गरे अनुसारको रोजगारी संरक्षण कोष स्थापना गरी सरकारको तर्फबाट कार्यरत श्रमिकलाई उपलब्ध गराई तत्काल सम्बोधन गर्न माग समेत गरेको छ ।

‘यदि उल्लिखित व्यवस्था वा अन्य उपयुक्त विकल्प आउन नसके ६ महिनामा परिस्थितिको समीक्षा गर्ने गरीे व्यवसाय बन्द गर्ने र व्यवसायीहरूले बाध्य भएर श्रम ऐन २०७४ बमोजिमको प्रक्रिया पूरा गरी श्रमिक कटौती गर्नेसम्मका निर्णय गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

हानले होटलहरू तत्काल पुनस्र्थापना र पुनरुत्थान भई सञ्चालनमा आउन समय लाग्ने भएकाले होटल खुला राखी सञ्चालन गर्न कुनै आधार नभएको र खर्चका शीर्षकहरू निरन्तर बढिरहने भएकाले सदस्य होटलहरूको आकस्मिक बैठक तथा देशैभरिका तारे होटल, पर्यटकीय होटल, बुटिक होेटल, रिसोर्टलगायत सबै होटलहरु केही समयका लागि बन्द गर्ने निर्णय समेत गरेको छ ।

Publish on: