काठमाडाैं । सरकारले भारतले मिचेको कालापानी, लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णय सुनाउँदै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने, ‘आज बसेको मन्त्रिपरिषदको बैठकले भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अध्यावधिक नक्सा स्वीकृत गरेको छ,, यो नक्साले नेपालको उत्तरी, पूर्वी, दक्षिणी र पश्चिमी अन्तर्राष्ट्रिय सीमा सहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटेको छ, यो नक्सा सबै प्रकारका प्रबन्धमा प्रयोग हुनेछ ।’
उनले अगाडि भने, ‘अध्यावधिक गरिएको नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक पनि समेटिएको छ, यो नक्सामा संघीयता अनुसारको प्रदेश र स्थानीय तहहरु पनि समेटिएका छन्, यो नक्सा बमोजिम, निशान छाप, सरकारी कामकाजमा प्रयोग हुने नक्सा, विद्यालयमा पढाइने पाठ्यपुस्तकमा पनि यही अनुसारको नक्सा प्रयोग हुनेछ ।’
बैठकपछि खुसी व्यक्त गर्दै पर्यटनमन्त्री योगेश भट्टराइले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्ः
आज नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय इतिहासको पन्नमा सुवर्ण अक्षरले त लेखिनेनै छ । आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भइरहनेछ । धन्यवाद प्रम केपी शर्मा ओली
SHARE YOUR THOUGHTS