काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने हो भने बलियो कुटनीति तयारी आवश्यक रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गिरीले अब हामीले नेपाली भूमि हो भनेर भनिरहनु नपर्ने बताउँदै अब बलियो कुटनीतिमार्फत कसरी ल्याउने हो त्यसमा ध्यान दिनुपर्ने बताए ।
‘तेरी आमा तेरी हो भने जस्तै हो, जग्गा हाम्रो हो भनिरहनु परेन अब कसरी जग्गा ल्याउने भन्नेमा ध्यान दिनुपर्छ, त्यसका लागि बलियो कुटनीति चाहिन्छ,’ गिरीले भने, ‘प्रधानमन्त्रीज्यू उखान टुक्कामा माहिर हुनुहुन्छ, तर एउटा उखान थाहा रहेनछन, स्यालको शिकार गर्न जाँदा बाघको तयारी गर्नुपर्छ ।’
उनले भारतसँग अब बलियो कुटनीतिक तयारीका साथ अतिक्रमित भूमि फिर्ताका लागि पहल गर्न सुझाव दिए ।
उनले सरकारले यो काम बिना तयारी र बिना गृहकार्य गरेको भए पनि यसमा सबैको समर्थन रहेको स्पष्ट पारे । उनले प्रधानमन्त्री ओलीलाई आफ्नो कार्यकालमा आफूले गरेको गल्ती सच्चाउन समेत सुझाव दिए ।
त्यहाँको भूभागलाई साच्चिकै भोग गर्न लगाएर इतिहासमा नाम लेख्न समेत सुझाव दिए ।
कुनैपनि विदेश नीति गृहनीति बलियो भए मात्रै साकार हुने बताउँदै उनले पार्टीभित्र पनि एकजुट हुन सुझाव दिए ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले एकमतले यस विषयमा निर्णय गरिसकेको बताउँदै गिरीले महाकाली सन्धी गर्दा गरेको गल्ती स्वीकार गर्नुपर्ने बताए ।
‘महाकाली सन्धी सम्झौता गर्दा ओलीजी र म पक्षमा थियौं, त्यसैकारणले एमाले टुक्रियो अब हामीले त्यो सन्धी गल्ती थियो भनेर स्वीकार गर्नुपर्छ,’ उनले भने ।
SHARE YOUR THOUGHTS