स्वदेशी उद्योगलाई संरक्षण गर्न कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा फरक पारिएको होः अर्थमन्त्री « Eglish Khabarhub

स्वदेशी उद्योगलाई संरक्षण गर्न कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा फरक पारिएको होः अर्थमन्त्री



काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी उद्योगलाई संरक्षण गर्ने गरी कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा एक तह फरक पारिएको बताएका छन् ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकमा अर्थमन्त्री खतिवडाले सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने गरी भन्सारका दर तय गरेको स्पष्ट पारे ।

भन्सार दर पुनरावलोकनमार्फत स्वदेशी उद्योगको संरक्षण सम्बन्धमा समितिमा भएको छलफलका क्रममा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिदै अर्थमन्त्री खतिवडाले स्वदेशी उद्योगलाई संरक्षण गर्न तयारी वस्तुको भन्सार दर कच्चा पदार्थको भन्दा एकतह माथि राखिएको बताए ।

आयातित वस्तुबाट न्यूनतम १० देखि बढीमा २० प्रतिशतसम्मको संरक्षणमा उद्योग व्यवसायहरु रहेको उनको भनाइ छ । उनले मूल्यवृद्धिलाई नियन्त्रण गर्न पनि कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा धेरै फरक गर्न नहुने र उद्योगी व्यवसायीहरु अहिले २० प्रतिशतभित्रै रहेर प्रतिस्पर्धी बन्न सक्नुपर्ने समेत बताए ।

भन्सारका दरहरु नियमित रुपमा परिवर्तन भइराख्ने भएकाले पनि व्यवसायीका समस्याहरु हरेक वर्ष समाधान हुँदै आएको उनको भनाइ छ । उनले राजस्व बोर्ड गठन गरी राजस्व सम्बन्धमा स्वतन्त्ररुपमा काम गर्न दिने व्यवस्था गर्न समेत बताए । कर सम्बन्धमा हुने समस्या समाधानका लागि बोर्डले प्रभावकारी काम गर्ने उनले बताए ।

स्वदेशी उत्पादनको प्रयोगका लागि तोकिएको मापदण्ड पुरा हुने र आपुर्तिमा समस्या नहुने हो भने आयोजनाहरुमा स्वदेशी वस्तुको प्रयोग गर्न कुनै समस्या नहुने अर्थमन्त्री खतिवडाको भनाइ छ ।

सार्वजनिक खरिद ऐनले १५ प्रतिशत महँगो भएपनि स्वदेशी वस्तु खरिद गर्नुपर्ने व्यवस्था गरेकाले पनि स्वदेशमा उत्पादन हुने वस्तुको प्रयोगको सुनिश्चितता भएको बताउँदै उनले वस्तुको गुणस्तर, समयमा आपूर्ति गर्ने र भनेको मात्रामा आपूर्ति गर्न सक्ने क्षमता विकास गर्दै त्यसको आधारबाट स्वदेशी उद्योगलाई संरक्षण दिने कुरामा सरकारले काम गरिरहेको बताए ।

अर्थमन्त्री खतिवडाले व्यवसायीले दिने र सरकारले लिने भन्ने धारणामा परिवर्तन गर्न समेत आग्रह गरे । सरकारले व्यवसायीक वातावरण बनाईदिने, कानून निर्माण गर्ने, पूर्वाधार तयार गर्ने, आपूर्ति व्यवस्थालाई व्यवस्थित गर्ने तथा शान्ति सुरक्षा दिने काम गरेबापत व्यवसायीबाट कर लिएको उल्लेख गर्दै व्यवसायीले दिने र सरकारले लिने भन्ने कुरालाई आफु मान्न तयार नभएको उनको भनाइ छ ।

बैठकमा उर्जा सचिव दिनेश कुमार घिमिरेले नेपालमा उत्पादन भएका वस्तुको प्रयोग गर्ने सम्बन्धमा उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय स्पस्ट रहेको बताउँदै नेपालमा उत्पादन हुने वस्तुको गुणस्तर पुगेमा र माग अनुसार आपूर्ति हुन सकेमा १५ प्रतिशत सम्म महँगो भएपनि प्राथमिकता दिने व्यवस्था अनुसार नै स्वदेशी वस्तुको प्रयोग भइरहेको तर्क गरे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गोकर्णमणि दुवाडीले सार्वजनिक निर्माणका लागि खरिद गर्ने सामग्रीमा तोकिएको गुणस्तर, मापदण्ड र आपूर्ति पुरा हुन सकेको अवस्थामा स्वदेशी उत्पादनलाई नै प्रयोग गरिएको बताए । स्वदेशमा उत्पादन भएको वस्तुलाई कानूनले दिएको सुविधा अनुसार नै सञ्चार क्षेत्रमा प्रयोग गरिएको उनको भनाइ छ ।

बैठकमा सांसदहरुले उर्जा र सञ्चार क्षेत्रका आयोजनाहरुमा नेपालमै उत्पादित वस्तुको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन् । सांसद देवेन्द्र पौडेलले उर्जा र सञ्चार मन्त्रालय मातहतका आयोजना र कार्यक्रमहरुमा प्रयोग हुने वस्तुहरु नेपालमै उत्पादन गर्न उद्योगी व्यवासयीलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

उनले देशका लागि चाहिने वस्तु कति हो र कति उत्पादन यहिं हुन्छ भन्ने यकिन गरेर आयातित वस्तुलाई नियन्त्रण गर्नुपर्ने तर्क गरे । सांसद सोमप्रसाद पाण्डेले देशभित्रै उत्पादन बढाउन नसके देशको अर्थतन्त्रमाथि जान नसक्ने बताए । उनले उत्पादन बढाउन उद्योगलाई प्रोत्साहन गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताए ।

सांसद विन्दा पाण्डेले कुनैपनि आयोजनामा स्वदेशी वस्तुको प्रयोग गर्न कम्तीमा तीन वटा मुलुकमा प्रचलन रहेको वस्तु हुनुपर्ने भन्ने व्यवस्था उपयुक्त नभएको बताए । उनले देशभित्र उत्पादन भएको वस्तुलाई आफ्नै देशले प्रयोग गरे मात्र अर्को देशमा निर्यात गर्न सकिने भएकाले पनि उक्त व्यवस्थालाई संशोधन गर्न माग गरे ।

बैठकमा सांसदहरुले स्वदेशी उद्योगबाट उत्पादन भएका वस्तुको अधिकतम प्रयोग गर्ने व्यवस्था मिलाउन अर्थमन्त्री खतिवडालाई आग्रह गरेका छन् । उनीहरुले आयातित वस्तुसँग स्वदेशमा उत्पादन भएको वस्तुले प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा भन्सार दर बढाएर भएपनि संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

Publish on: