खर्च घटाउन बैंकहरुको नयाँ रणनीति, एउटै भवनमा मिलिजुली कारोबार « Eglish Khabarhub

खर्च घटाउन बैंकहरुको नयाँ रणनीति, एउटै भवनमा मिलिजुली कारोबार



काठमाडौं । बैंकहरुले एउटै भवनमा स्पेस सेयरिङ गरेर कारोबार गर्ने तयारी थालेका छन् ।

आम्दानी घट्ने अवस्था आएपछि बैंकहरुले सञ्चालन खर्च घटाउने तर्फ नयाँ रणनीति अगाडि सारेका हुन् ।

सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि गत चैत ११ गतेबाट साउन ६ गतेसम्म लकडाउन गरेको थियो ।

कोरोना प्रभावित क्षेत्रले बैंकमा भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याज तिर्न सकिरहेका छैनन् । साथै राष्ट्र बैंकले गरेका केही नीतिगत वित्तीय छुटको व्यवस्थाका कारण पनि बैंकहरुको नाफामा संकुचन आएको छ ।

एकातर्फ आम्दानी घट्दो र अर्को तिर खर्च भने बढिरहेको हुँदा नेपाल बैंकर्स संघले बैंकको सञ्चालन खर्च घटाउने उपया खोजि गरेको थियो । सोही अनुसार संघले एक कमिटी बनाएर खर्च घटाउन सकिने विषयमा सम्भाव्यता अध्ययन गरेको छ ।

सो कमिटीले बैंकको खर्च घटाउन स्पेस सेयरिङ गर्नेलगायत अन्य सुझाव पेस गरेको संघका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल शर्माले जानकारी दिए ।

‘बैंकहरूले खर्च घटाउन शाखा कार्यालयमा बढी भएको स्पेस अर्कोे बैंकलाई दिन सक्ने सुझाव कमिटीले दिएको छ,’ सीइओ शर्माले क्लिकमाण्डूसँग भने, ‘खर्च घटाउन कमिटीले पेस गरेको सुझाव कार्यन्यवन गर्ने नगर्ने विषयमा भने छलफल हुन बाँकी नै छ ।’

एकै ठाँउमा दुई बैंकले कारोबार गर्दा हुनसक्ने समस्या तथा जोखिमबारे अध्ययन गरी त्यसको कार्यन्यवनको प्रक्रिया अघि बढाइने उनले बताए ।

यस बाहेक सो कमिटीले बढी भएका एटीएम तथा शाखा बन्द गर्ने, बैंकिङ प्रविधिमा संयुक्त लगानी गर्ने, विद्युतीय कारोबारलाई प्राथमिकता दिने लगायतको सुझाव संघमा दिएको छ ।

बैंकर्स संघले यस अघि नै राष्ट्र बैंकलाई खर्च घटाउन शाखा बन्द गर्ने विषयलाई थप सहजिकरणको गरिदिनुपर्ने माग मौद्रिक नीति आउनु अघि नै राखेको थियो ।

तर राष्ट्र बैंकले खुलिसकेको शाखा बन्द गराउँदा वित्तीय सचेतना तथा पहुँच विस्तारमा नकारात्मक असर पर्छ भन्दै संघको मागलाई नजर अन्दाज गरेको थियो ।

खुलिसकेको शाखा बन्द गराउन नपाउने भएपनि न्यून स्पेसमा थोरै कर्मचारीबाटै शाखा सञ्चालन गरी खर्च घटाउने तयारीमा बैंकहरु जुटेका छन् । उनीहरुले अन्य उपायका बारेमा समेत खोजी गरिरहेका छन् ।

Publish on: