काठमाडौं । लकडाउनपछि लगातार उकालो लागेको सुनको मूल्यले बुधबार एतिहासिक रेकर्ड कायम राख्दै प्रतितोला १ लाख रुपैयाँ नाघेको छ । मंगलबारको तुलामा बुधबार सुनको मूल्य एकदिनमै १ हजार ६ सय रुपैयाँले बढेर १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको हो ।
कोरोना भाइरसको संक्रमण र चीन/अमेरिकारबीचको व्यापार युद्धका कारण बढेको सुनको मूल्यमा अन्तर्राष्ट्रिय स्तरमा लगानी गर्ने बढेसँगै सुनको भाउले एतिहासिएक रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए ।
‘कोरोनाको संक्रमणको थप भयले अन्य क्षेत्रमा जाने लगानी पनि सुनमा आएको छ,’ पूर्व अध्यक्ष शाक्यले क्लिकमाण्डूसँग भने, ‘कोभिडको समयमा पनि चीन र अमेरिकाको व्यापार युद्ध नरोकिँदा लगातार सुनको मूल्यमा वृद्धि भएको छ ।’
उनका अनुसार डलरको मूल्यमा गिरावटले पनि अन्तर्राष्ट्रिय बजारमा नै सूनको मूल्य बढिरहेको हो । कोरोनाको अवस्था सामान्य नभएसम्म अझै सूनको मूल्य बढ्न सक्ने उनको अनुमान छ ।
सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ कटेपनि बजारमा सुनको कारोबारमा भने मन्दी छाएको छ । कारोबारमा मन्दी छाएसँगै बैंकहरु सुन आयात गरेका छैनन् ।
व्यवसायीहरुले राष्ट्र बैंकले वाणिज्य बैंकहरुमार्फत् सुन आयात गर्छन् । बैंकर्स संघको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २१ वटा वाणिज्य बैंकले २४ सय केजी सुन आयात गरेका थिए । जसमध्ये असार मसान्तसम्म ३२८ केजी सुन बिक्री हुन बाँकी छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हाल छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ छ । एक केजी सुनमा ९० तोला हुन्छ । हालको मूल्यअनुसार २१ वटा बैंकले गरेको २ अर्ब ९९ करोड ३३ हजार रुपैयाँ बराबरको सुनमा लगानी थन्किएको छ ।
राष्ट्र बैंकको प्रावधानअनुसार वाणिज्य बैंकहरुले नेपाल बैंकर्स संघको सिफारिसमा काँचो सुन आयात गर्न पाउँछन् ।
चैतअघिसम्म १५ किलोसम्म सुन आयात गर्न पाउने व्यवस्थालाई राष्ट्र बैंकले कोरोनाको महामारीमा विलासिलताको वस्तु भन्दै सुन आयातको सीमा घटाएर १० केजी बनाएको छ ।
सुन आयातको दायरा घटेपनि उच्च मूल्यवृद्धि र कोरोनाको कारण मानिससँग सुन खरिद गर्ने क्षमता घटेको हुँदा बैंकमा व्यापारी सुन खरिद गर्न नआएको संघका कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले बताए ।
‘कोभिड यता बैंकबाट हप्तामा ४÷५ केजी सुनपनि बजारमा गएको छैन्,’ सीईओ शर्माले क्लिकमाण्डुसँग भने, ‘माग नै नभएपछि बैकहरुले फागुनयता सुन आयात गरेका छैनन्, होल्ड भएको सुन बिक्री नभएसम्म बैकहरुले सुन आयात गर्दैनन् ।’
सुन आयात गर्दा अर्बौ रुपैयाँ बहिरिएको तर बजारमा सुनको माग नहुँदा बैंकको सम्पती फ्रिज भएर बसेको सीईंओ शर्माले बताए ।
अहिलेको मूल्यअनुसार २१ वटा वाणिज्य बैंकहरुले गत आवमा मात्र २१ अर्ब ९० करोड २४ लाख रुपैयाँ बराबरको २४ सय केजी सुन आयात गरेका थिए ।
कोरोना भाइसरको रोकथाम तथा नियन्त्रणका लागि सरकारले करिब ५ महिना लकडाउन गरेको थियो । लकडाउनमा आर्थिक कारोबार प्रायः ठप्प थिए । केही समय बन्दभएको सुनचाँदी बजार लकाडाउनबीच पुनः सञ्चालनमा आएका हुन् । त्यसयता सुनको मुल्य लगातार बढिरहेको छ ।
सुनको मूल्यवृद्धि भएपनि मानिसहरु अहिले सुनप्रतिको आकर्षण खस्किएको व्यापारीहरुको भनाइ छ । बजारमा छापावाला सुनको मूल्य अहिले प्रतितोला ९९ हजार ८ सय रुपैयाँ छ ।
नेपाली सुनचाँदी बजारमा सुनको सिजन विवाहको महिना बाहेक दशैं तिहार र तिजमा हो । तर सिजन भएपनि सुनचाँदी पसलबाट प्रतिदिन एक तोला सुन पनि बिक्री हुन गाह्रो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए ।
‘लकडाउनले गर्दा मानिससँग आधारभूत आवश्यकताका सामान खरिद गर्ने पैसा छैन्, सुन भनेको त मानिसको अतिरिक्त आवश्यकता हो,’ पूर्व अध्यक्ष शाक्यले क्लिकमाण्डूसँग भने, ‘पसलमा सुन खरिद गर्ने मानिस आउन छोडिसके, सुन पसलमा आउने व्यक्ति अधिकांश पुराना सुन बिक्री गर्ने मात्र हुन्छन् ।’
पसलमा नयाँभन्दा पुरानो सुन बिक्री गर्ने व्यक्ति बढेपनि व्यापारीहरुले अन्यत्रबाट खरिद गरिएको सुन खदिर नगरेको उनले बताए ।
‘आफैले बिक्री गरेको सुन फिर्ता लिन व्यापारीहरुले बैंकबाट कर्जा लिएका छन्,’ उनले भने, ‘अन्य पसलबाट किनिएको सुन खरिदमा व्यवाहारिक कठिनाइ हुने र ४ महिना लकडाउनका कारणले व्यापारीसँग पैसा सकिएको हुँदा अहिले कुनैपनि व्यापारीले त्यस्ता सुन खरिद गरेका छैेन् ।’
मूल्य बढ्यो भनेर सुन बेचेर अन्य क्षेत्रमा लगानी गर्ने सोच हो भने जुन पसलबाट सुन खरिद गरिएको हो त्यहि पुग्नु पर्ने उनले जानकारी दिए ।
नेपाली बजारमा आज सुनको मूल्य १ लाख रुपैयाँ माथि पुगेको छ । नेपाली समाजमा लोकप्रिय उखान जस्तै ल्हासामा सुन छ कान मेरो बुच्चै भने जस्तै गरिखाने वर्गका लागि अब सुन किन्नु एकादेशको कथा जस्तै हुने अवस्था सिर्जना भएको छ । सुनचाँदी व्यवसायी महासंघको भनाइलाई मान्ने हो भने सुनको मूल्य बढेर १ लाख १५ हजार रुपेयाँ भन्दा माथि पुग्ने देखिन्छ ।
यसका पछाडि खास खास कारण रहेका छन् । संसारभर नै यतिखेर कोरोनाको महामारी बढेको छ । यूरोपमा केही मात्रामा नियन्त्रणमा आएको कोरोना अन्य क्षेत्रमा भने फैलदै गएको छ । उत्तर अमेरिका, दक्षिण अमेरिकाका विभिन्न देशमा कोरोाले तवाह मच्चाइरहेको छ । छिमेकी देश भारतमा त दैनिक ५० हजार बढीमा कोरोना देखिएको छ । विश्व अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ ।
लगानीका स्रोत खुम्चिएका छन् , अर्थात् जोखिम बढेको छ । सोही कारण सुरक्षित लगानीका रुपमा रहेको सुनमा लगानीकर्ता ओइरिएका छन् । कोरोनाले अर्थतन्त्र जोखिममा परेका कारण विश्व बजारमा नै लगानीकर्ता सुन खरीदमा लागेका छन् । सोही कारण माग बढ्दा मूल्यमा एकाएक बढोत्तरी भएको छ ।
यस्तै विश्व बजारमा अमेरिकी डलरको मूल्यमा कमी आएको छ । डलरमा आएको कमी, कोरोनाको महामारी, चीन र अमेरिकाबीच बढ्दै गएको व्यापार युद्ध तथा अन्य दृश्य तथा अदृश्य कारणले गर्दा मानिसहरु सुरक्षित लगानीको माध्यम खोज्दै सुनमा आकर्षित भएका छन् ।
इकोनोमिक टाइम्सका अनुसार हाल विश्वभर १ हजार टन बढी सुनको माग छ । सुन खानीबाट सुन उत्खनन् पनि कम भएको छ । अर्थात् सुन उत्खनन् क्षमतामा कमी आएको छ । सुन खानीका काम गर्ने मजदुरहरु कोरोना कारण पनि परिचालित हुन पाएका छ्रैनन् । उक्त पत्रिकाका अनुसार हाल विश्व बजारमा पठाइने सुन मध्येको ठूलो हिस्सा पूराना सुनको प्रशोधनमा नै केन्द्रीत रहेको छ । कम आपूर्तिले पनि मूल्य बढाउन सहयोग पुर्याएको छ ।
विशेष गरी भारत र नेपाल जस्ता देशमा चाडबाड तथा विवाहको समयमा सुनको अत्याधिक माग हुने गर्दछ । विश्व बजारका आधारमा मूल्यांकन गर्ने हो भने भारत ठूलो सुनको बजार हो । नेपाली रुपैयाँ र भारतीय रुपैयाँको बीचमा रहेको अपरिवर्तनीय मूल्यले पनि नेपालमा सुनको मूल्य बढाउन सहयोग पुर्याएको छ ।
बल्र्ड गोल्ड काउन्सिलका अनुसार मानिसहरुको आथिृक क्षमतामा आउने वृद्धिले पनि बजारलाई थप माथि जान प्रेरित गरिरहेको छ । उसले थप अगाडि भनेको छ ‘ १ प्रतिशत बढी आर्थिक वृद्धि हुँदा सुनको मूल्यमा पनि थप १ प्रतिशतले वृद्धि हुन्छ ।’ १ प्रतिशत बढीले मूल्य बढ्दा बजारमा माग भने ०.५ प्रतिशतले घटन जान्छ ।
संसारका विभिन्न देशहरुले सुनको उत्खनन् गर्ने गरेका छन् ।
संसारको सबैभन्दा बढी सुन उत्खनन् गर्ने देश मध्ये चीन १ नम्बरमा रेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चीनले ३९९.७ टन सुन उत्खनन् गर्ने गरेको छ । सुन उत्पादनमा उसको हिस्सा पछिल्ला दिनमा थप बढ्दै गएको छ ।
यस्तै दोस्रोमा अष्टे«लिया रहेको छ । सो देशले कूल ३१२.२ टन, रसिया २८१.५ , अमेरिका २५३.२, क्यानडा १९३, इन्डोनेसिया १९०, पेरु १५५.४, दक्षिण अफ्रिाका १२३.५, मेक्सिको १२३.५ र घानामा १०१.८ टन सुन उत्खनन गर्ने गरेका छन् । सुन उत्खनन् गर्ने क्षमताका आधारमा हरेक वर्ष कुनै देश माथि त कुनै देश तल हुने गरेका छन् ।
SHARE YOUR THOUGHTS