काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि निस्संक्रामक गर्ने (डीस–इन्फेक्टेन्ट) कार्यलाई निरन्तरता दिएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाको भनाई छ ।
महानगरले कोभिड-१९ को माहामारीसँगै टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका स्थानमा सुरुदेखि नै डीस–इन्फेक्टेन्ट कार्यलाई निरन्तरता दिदैँ आएको थियो । संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक क्षेत्रमा निसंक्रमण गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिएको महानगरपालिकाले जानकारी दिएको छ । यसका लागि दैनिक १० वटासम्म सवारी र उपकरण परिचालन गर्ने गरिएको पनि काठमाडौँ महानगरपालिकाको भनाई छ ।
‘कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा डिस-इन्फेक्टेन्ट गर्ने र दैनिक ५ वटा टोलीले सो सम्वन्धी चनचेतनामुलक सन्देश सम्प्रेषणका लागि माइकिङ गर्ने कार्य गर्दै आएको छ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘प्रत्येक वडासँग समन्वय गर्न ५ वटा अनुगमन टोली समेत परिचालन गरेका छौँ ।’
गर्मी मौसममा डेंगुलगायतको प्रकोप पनि बढ्ने भएकाले त्यसको नियन्त्रणका लागि समेत प्रभावकारी हुने हुँदा डीस–इन्फेक्टेन्ट गर्ने कार्यलाई निरन्तरता दिएको उनको भनाई छ ।
नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले पनि संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक ठाउँलाई निसंक्रमण गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिदैँ आएको जानकारी र्दिए ।
‘मुख्य गरेर कालीमाटी, बल्खुलगायतका क्षेत्रमा बढी भिडभाड हुने तरकारी बजार, महानगरीय ट्राफिक प्रहरी महाशाखा, अस्पताल क्षेत्र र कोरोना संक्रमित भेटिएका ठाउँलाई प्राथमिकतामा राखेर निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएका छौँ,’ उनले भने, ‘एकसरो काठमाडौँ महानगरका ३२ वटै वडामा पुगिसकेका छौं । वडाबाट माग भएका ठाउँमा पठाउने गरेका छौं ।’
उनले निसंक्रमण गर्ने प्रचलित मापदण्डबमोजिमको रसायन प्रयोग गरेर काम गरिरहेको जानकारी दिए ।
SHARE YOUR THOUGHTS