लकडाउन अवधिमा विद्युतीय कारोबार ७८.८७ प्रतिशतले बढ्यो « Eglish Khabarhub

लकडाउन अवधिमा विद्युतीय कारोबार ७८.८७ प्रतिशतले बढ्यो



काठमाडौं । कोरोनाकालमा विभिन्न क्षेत्रमा नकारात्मक असर पारे पनि विद्युतीय कारोबार भने उल्लेख्य बढेको छ । लकडाउन अवधिमा नै विद्युतीय कारोबार ७२.८७ प्रतिशतले बढेको हो ।

गत चैत ११ गतेबाट साउन ६ गतेसम्मको सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि लकडाउन गरेको थियो । त्यसपछि राष्ट्र बैंकले विद्युतिय कारोबारलाई प्रोत्साहन गर्दै यसमार्फत् हुने कारोबारलाई निःशुल्क बनाएको थियो । चैत महिनामा विद्युतीय उपकरणमार्फत ९ खर्ब १५ अर्ब ७ करोड ६२ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

लकडाउनका कारण र कोरोनाको संक्रमण जोखिममा विद्युतिय कारोबारमा मानिसहरुको आर्कषण बढ्दा बैशाख, जेठ र असार ३ महिना नै ३ सय ८ खर्ब ८५ अर्ब ४१ करोड रुपैयाँ बराबरको विद्युतिय कारोबार भएकोे राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

आरटिजियस प्रणाली सञ्चालनमा आएपछि र विद्युतिय कारोबारमा गरिएको प्रोत्साहनले पछिल्लो समयमा विद्युतिय कारोबार बढेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकार भट्टले बताए ।

‘विद्युतिय कारोबारमा सबैभन्दा बढी आरटिजीएर प्रणालीबाट कारोबार भएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘लडकाउन अवधिमा भने मोवाईल र इन्टरनेट बैंकिङ प्रयोगकर्ता र कारोबार बढेको छ ।’

फिजिकल भुक्तानीमा कोरोना संक्रमणको जोखिम बढी हुँदा र सो अवधिमा विद्युतिय कारोबार सहज र निशुल्क हुँदा मोवाइल र इन्टरनेट बैंकिङ कारोबार बढेको उनले बताए ।

केन्द्रीय बैंकले सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाले ३ महिनाको अवधिमा एटिएम, मोवाईल/इन्टरनेट बैंकिङ, डेविट/क्रेडिट/प्रिपेड कार्ड, आर.टि.जि.एस, इसिसि, आइपिएस, कनेक्ट आइपिएस र आइपिएसमार्फत् ३ महिना नै ३ सय ८ खर्ब ८५ अर्ब रुपैयाँ बढीको विद्युतिय कारोबार गरेका हुन् ।

बैशाखमा बैंक तथा वित्तीय संस्थाले ७३ खर्ब २२ अर्ब ९७ करोड १० लाख रुपैयाँ बराबरको विद्युतिय कारोबार गरेको थिए । जेठ महिनामा यस्तो कारोबार ३५ खर्ब ७९ अर्ब ८६ करोड २० लाख रुपैयाँले बढेर १ सय ९ खर्ब ८३ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

केन्द्रीय बैंकद्वारा सार्वजनिक तथ्यांकअनुसार असार महिनामा १ सय २६ खर्ब ५९ अर्ब ६० करोड ६० लाख रुपैयाँ पुगेको छ । जुन जेठ महिनाकोभन्दा १७ खर्ब ५६ अर्ब ७७ करोड रुपैयाँ बढी हो ।

सो अवधिमा सबैभन्दा बढी आरटिजिस प्रणालीबाट २ सय ८६ खर्ब २ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमा बैशाखमा ६८ खर्ब ८८ अर्ब रुपैयाँ बढी, जेठमा १ सय २ खर्ब ५१ अर्ब रुपैयाँ बढी र असार महिनामा १ सय १४ खर्ब ६३ अर्ब रुपैयाँ बढीको कारोबार भएको हो ।

यसैगरी, मोबाइल बैंकिङमार्फत् ३ महिनामा ४१ अर्ब २८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमा बैशाख महिनामा ८ अर्ब ६४ करोड रुपैयाँ बढी, जेठमा १४ अर्ब १ करोड रुपैयाँ बढी र असारमा १८ अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार भएको हो । साथै सो अवधिमा इन्टरनेट बैंकिङ कारोबार ४६ अर्ब रुपैयाँ बराबरको भएको छ ।

जसमा बैशाखमा ९ अर्ब ९७ करोड रुपैयाँ बढी, जेठमा १७ अर्ब १२ करोड रुपैयाँ बढी र असार महिनामा १९ अर्ब ४ करोड रुपैयाँ बढीको कारोबार इन्टरनेट बैंकिङमार्फत भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकअनुसार ३ महिनाको अवधिमा एटीएममार्फत् १ खर्ब २२ अर्ब रुपैयाँ बढी, डेविट कार्डमार्फत ८ अर्ब ५० करोड रुपैयाँ बढी, क्रेडिट कार्डमार्फत् ३ करोड ६० लाख रुपैयाँ बढी र प्रिपेड कार्डमार्फत १ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, बैसाख, जेठ र असार महिनाको अवधिमा इसिसिमार्फत् १३ खर्ब ८६ अर्ब रुपैयाँ बढी, आइपिएसमार्फत् ४ खर्ब ८२ अर्ब रुपैयाँ बढी, कनेक्ट आइपिएसमार्फत् १ खर्ब १३ अर्ब रुपैयाँ बढी र वालेटमार्फत् २२ अर्ब ९ करोड रुपैयाँ बढीको कारोबार भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

Publish on: