काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ७.४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा प्रवाह गरेको कर्जाको वृद्धिदर १९.४ प्रतिशत मात्रै थियो ।
गत आवमा निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.४ प्रतिशतले घटेर १२ प्रतिशतमा सीमित भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनअनुसार निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १६ प्रतिशतले बढेको छ ।
साथै वित्त कम्पनीको पनि सो अवधिमा निाजी क्षेत्रमा प्रावाहित कर्जाको वृद्धिदर ८ प्रतिशतले बढेको छ ।समीक्षा अवधिममा विकास बैंकहरुको कर्जा प्रवाह भने १६.२ प्रतिशतले घटेको छ । गत वर्ष ६ वटा विकास बैंकहरु वाणिज्य बैंकमा गाभिएका तथा प्राप्ति भएका कारण कर्जा प्रवाह घटेकोे राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरुको औसत आधारदर १.०७ प्रतिशतले घटेको छ ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तमा वाणिज्य बैंकहरुको औसत आधारदर ९.५७ प्रतिशत रहेकोमा गत आवको सोही अवधिमा ८.५० प्रतिशत कायम भएको छ ।
सो अवधिमा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर ६.०१ प्रतिशत र कर्जाको औसत ब्याजदर १०.११ प्रतिशत रहेको छ । विवरण अनुसार २०७६ असारमा त्यस्तो ब्याजदर दरहरु क्रमशः ६.६० प्रतिशत र १२.१३ प्रतिशत थिए ।
२०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले गरेको लगानी गरिएको कर्जामध्ये ६५.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.४ प्रतिशत र १३.५ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरुले कृषि क्षेत्रमा १६.७ प्रतिशत , औद्योगिक उत्पादन क्षेत्रमा ११.५ प्रतिशत, निर्माण क्षेत्रमा १२.३ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रमा १८.६ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रमा ७.७ प्रतिशत र सेवा उद्योग क्षेत्रमा २२.१ प्रतिशतले कर्जा लगानी बढाएका छन् ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २७.७ प्रतिशत, ओभरड्राफ्ट कर्जा ७.२ प्रतिशते, ट्रष्ट रिसिट (आयात) कर्जा ८.७ प्रतिशत, डिमान्ड तथा चालु पूँजी कर्जा १४ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.१ प्रतिशत र मार्जिन प्रकृति कर्जा ११ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ३.८ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्