काठमाडौं । बिहीबार उपत्यकाका तीन वटै जिल्लामा खाद्यान्न र फूड डेलिभरी गर्ने कम्पनीका कर्मचारीलाई प्रहरीले बाटोमै नियन्त्रणमा लिएको छ ।
निषेधाज्ञा उल्लंघन भएको भन्दै प्रहरीले जहाँ भेट्यो त्यही नियन्त्रणमा लिएको हो ।
प्रहरीले दिउँसो ३ बजे सूचना आएपछि बाटोमै नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
खाद्यान्न र फूड डेलिभरी गर्ने कर्मचारीहरुलाई बिहीबार दिउँसो ३ बजेदेखि रोकेको दरबारमार्गमा सुरक्षार्थ खटिएका एक प्रहरी जानकारी दिए ।
दरबारमार्ग, पुतलिसडक, ठमेल चोक, तीनकुने, बानेश्वर, बालाजुलगायत उपत्यकाका तीन वटै जिल्लामा उनीहरुलाई रोकिएको हो ।
दरबारमार्गमा ४ बजेदेखि रोकिएका ४ जना डेलिभरी गर्ने कर्मचारीहरु साँझ साढे ७ बजेसम्म पनि छाडिएको थिएन ।
‘मेट्रोबाट ३ बजे आदेश आएपछि उहाँहरुलाई रोकिएको हो अझैसम्म छाड्ने आदेश नआएकाले यही राकिएको छ,’ एक प्रहरीले भने ।
प्रहरीले ती कम्पनीका सञ्चालकहरुलाई समेत प्रहरी कार्यालयमै पुगेर पक्राउ समेत गरेको छ भने कतिपय सञ्चालकलाई फोन गरेरै प्रहरी कार्यालयमा बोलाएको छ ।
प्रहरीले युजी केक कम्पनीकि सञ्चालक निकिता आचार्य, डल्लेका सञ्चालक आलोक योञ्जन, फुडमाण्डुका संस्थापक मनोहर अधिकारी लगायतलाई प्रहरी कार्यालयमा बोलाएको छ ।
प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै उनीहरुलाई रोकिएको जानकारी दिए ।
ज्ञवालीका अनुसार बिहान सवा ९ बजेसम्म अत्यावशयक सेवा अन्तर्गत पर्ने पसल खोल्न दिइएको र त्यसभन्दा बाहेक बन्द गर्नुपर्ने भएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
निषेधाज्ञा अवधिभर होटल तथा रेष्टुराँ पूर्णरुपमा बन्द भएको अवस्थामा रेष्टुराँ सञ्चालन नभइ फूड डेलिभरी हुँदैन जुन निषेधाज्ञा उल्लंघन गरिएको मानिने उनले बताए ।\
ज्ञवालीले आज जहाँ भेट्यो त्यही नियन्त्रणमा लिएको बताउँदै अटेर गरे आवश्यक कानूनी कारबाही समेत गर्न सकिने बताए ।
SHARE YOUR THOUGHTS