राष्ट्र बैंकले शुरु गर्यो फोर्स मर्जरको पहिलो चरण, बैंकसँग सेयरधनीको विवरण माग्दै (पत्रसहित) « Eglish Khabarhub

राष्ट्र बैंकले शुरु गर्यो फोर्स मर्जरको पहिलो चरण, बैंकसँग सेयरधनीको विवरण माग्दै (पत्रसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले फोर्स मर्जको प्रक्रिया शुरु गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले एकाघर परिवारको सेयर स्वामित्व भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जाने निर्देशन दिने उल्लेख गरेको छ ।

सोहि निर्देशनको कार्यान्यवनका लागि बैंक तथा वित्त कम्पनीसँग गत आवको असार मसान्तसम्मका सेयरधनीको विवरण पठाउन राष्ट्र बैंकले गत साउन १४ गते नै भदौ १५ गतेसम्मको समयावधि तोकेर चिठी पठाएको थियो ।

केन्द्रीय बैंकद्वारा बैंक तथा वित्त कम्पनीलाई पठाउन निर्देशन दिएको पत्रमा भनिएको छ– ‘बैंक तथा वित्तीय संस्थाले २०७७ असार ३१ गतेसम्म कायम रहेको संस्थापक सेयरधनी यसैसाथ संलग्न ढाँचा बमेजिमको विवरण (प्रमाणित सेयर धनी दर्ता किताब समेत) यस बैंकको रिपोर्टिङ पोर्टलमार्फत २०७७ भदौ १५ गतेभित्र उपलब्ध गराउन अनुरोध गर्दछु ।’

साथै, संस्थापक सेयरधनी संस्थामा भएका संस्था, फार्म, कम्पनीको दर्ता गर्ने सम्बन्धीत निकायबाट प्रमाणित सेयरधनी दर्ता किताबअनुसारको अन्तिम हिताधिकारी प्राकृतिक व्यक्ति पहिचान हुने विवरण समेत संलग्न गरी पठाउन राष्ट्र बैंक नियमन विभागले बैंक तथा वित्त कम्पनीलाई निर्देशन दिएको थियो ।

निर्देशनअनुसार सबै बैंक तथा वित्त कम्पनीहरुले सेयरधनीको सम्पूर्ण विवरण पठाइसकेको राष्ट्र बैंक नियमन विभागका एक अधिकारीले बताए ।

‘विवरण प्राप्त भइसकेको छ, प्राप्त विवरणमा अब समिति बनाएर अध्ययन शुरु गछौँ,’ ती अधिकारीले क्लिकमाण्डूलाई भने, ‘मौद्रिक नीतिमा उल्लेख भएका मर्जर सम्बन्धी नीतिको कार्यन्यवनमा यो पहिलो प्रक्रिया शुरु गरिएको हो ।’

एकाघर परिवारको कति प्रतिशत सेयर स्वामित्वलाई क्रस होल्डिङ मानेर मर्जरमा जान निर्देशन दिने भन्ने विषयमा भने छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

यदी कुनैपनि बैंक तथा वित्तीय संस्थामा सीमाभन्दा बढी एकाघर परिवारको सेयर स्वामित्व भेटिएमा तत्कालै फोर्स मर्जरमा जान राष्ट्र बैंकले निर्देशन दिने स्रोतको भनाइ छ ।

‘अध्ययन तत्कालै सुरुभएपनि क्रस होल्डिङ भेटिउका बैंक तथा वित्त कम्पनीलाई कोभिडको असर सामान्य भएपछि मर्जरमा जान निर्देशन राष्ट्र बैंकले दिन्छ ।’ राष्ट्र बैंक स्रोतले भन्यो ।

Publish on: