प्रचन्डसँग प्रधानमन्त्री ओलीले भने- मलाई अर्थमन्त्रीमा युवराज नै चाहिन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रचन्डसँग भएको भेटमा राष्ट्रिय सभामा आफूलाई अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडा नै हुनुपर्ने माग दोहोर्याएका छन् ।

फागुनयता राष्ट्रिय सभाको सदस्य पद रिक्त छ । जसमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई लैजाने नेकपाले निर्णय गरेको थियो ।

तर हालसम्म उक्त निर्णय कार्यान्वयन भएको छैन ।

डा. खतिवडा संविधानमा भएको व्यवस्था अनुसार राष्ट्रिय सभाको सदस्य नभए पनि मन्त्री हुन पाउने व्यवस्था बमोजिम अर्थ र सञ्चार मन्त्रीका रुपमा काम गरिरहेका छन् ।

उनको कार्यकाल यही भदौ २१ गते सकिँदै छ । यदी उनी राष्ट्रिय सभामा पुन: नियुक्त नभएमा उनको मन्त्री पद स्वत: खोसिनेछ ।

यता उपाध्यक्ष गौतम पनि भदौ २१ गतेको डेडलाइन नजिकिँदै गर्दा यसअघि आफूलाई राष्ट्रिय सभामा लैजाने पार्टीको निर्णय कार्यान्वयन हुनुपर्ने अडान राख्दै आएका छन् ।

यसैबीच बुधबार भएको नेकपा अध्यक्षद्वयको भेटमा ओलीले खतिवडालाई नै निरन्तरता दिन चाहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि प्राइम टेलिभिजनमा ऋषि धमलासँगको टक सोमा आफू अर्थमन्त्रीको कामबाट सन्तुष्ट रहेको बताइ सकेका छन् ।