काठमाडौं । काठमाडौं महानगरपाकिलाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने व्यवस्था गरेको छ ।
काठमाडौं महानगरले आजदेखि १० वटा वडाबाट राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लगेको छ ।
महानगरपालिकाले वडा नम्बर २६ लगायत १० वटा वडाहरुबाट यो सेवा सुचारु गरेको हो । महानगरपालिकाको सातौ नगरसभाको निर्णय अनुसार विभिन्न १० वटा वडाबाट सेवा सुरु भएको महानगरपालिकाकाले जनाएको छ ।
सेवाग्राहीहरुले समयमा कर तिर्न नपाइएको, सेवा समयमा नपाइएको गुनासो महानगरलाई आउने भएकाले अब सबैले आफ्नो घरघरबाट कर तिर्न सक्ने व्यवस्थाको सुरुवात भएको महानगरको भनाइ छ ।
वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले संघीय राजधानीमा रहेको स्थानीय तहले सुरु गरेको रचनात्मक कामले देशरीका स्थानीय तहलाई सेवा सुरु गर्न सहज हुने बताए । कागजी कामले विभिन्न समस्या हुने गरेकोमा अव त्यस्तो अवस्थाको अन्त्य हुने उनले बताए ।
अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन सकिने छ । यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने विश्वास महानगरपालिकाले लिएको छ ।
राजस्व बिभागका निर्देशक शिवराज अधिकारीकाअनुसार आजबाट १, २, ३, ४, १०, १५, २६, ३० र ३१ मा प्रणाली प्रयोगमा आइसकेको छ
सेवा कसरी लिने ?
अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी २ वटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् । यसमा करदाताले महानगरलाई बुझाउनु पर्ने करको प्रारम्भिक मुल्याङ्क करदाता आफैंले घरमै बसेर गर्न सक्ने सुबिधा छ ।
करदातासँग सम्बन्धित र सोधिएका-माग गरिएका विवरण भरेपछि प्रणाली आफैंले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ । यसबाट महानगरलाई कति रकम तिर्नु पर्ने हो? करदातालाई थाहा हुन्छ । करदाताका लागि यो जानकारी रकम र समय व्यवस्थापनका कोणबाट महत्वपूर्ण उपलब्धी हो ।
करदाताको विवरण पेस भएपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा कर मुल्याङ्कनलाई रुजु गरी स्वीकृत गर्नेछन् ।
त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (ई-सेवा, कनेक्टआईपीएस, खल्ती, फोनपे, आईएमईपे, प्रभु पेलगायत) बाट भुक्तानी गर्न सक्नेछन् । यसरी भुक्तानी गरिएको रकम सम्बन्धि सूचना एसएमएसबाट पनि प्राप्त हुनेछ ।
SHARE YOUR THOUGHTS