काठमाडौं । बिहीबार सेयर बजारमा पुँजीकरण बढेर रेकर्ड ब्रेक भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार साताको पाँचौ दिनको कारोबार सम्पन्न हुँदा बजार पुँजीकरण हालसम्मकै बढी २० खर्ब ९० अर्ब २० करोड रुपैयाँभन्दा बढी भएको हो । जुन हालसम्मै बढी हो ।
यसअघि बजार हालसम्मै सूचक उच्च विन्दु १८८१ अंक पुग्दा पनि बजार पुँजीकरण यति ठूलाे थिएन । तत्कालिन समयमा बजार पुँजीकरण २० खर्ब ७० अर्ब पुगेको थियो । तर सन् २०२० को फेब्रुअरी २७ मा बजार सूचक १६३२.१७ रहँदा बजार पुँजीकरण हालसम्म कै सबैभन्दा बढी २० खर्ब ८३ अर्ब रुपैयाँ पुगेको थियो । बिहीबार बजार सकिँदासम्म बजार सूचक १५७२.१८ मा बन्द पुगेको छ ।
त्यसयता बजार घटेसँगे पुँजीकरणमा पनि क्षयीकरण आएको थियो । जसका कारण लगानीकर्ताको सम्पत्ति घटेको थियो । तर पछिल्लो समय बजार बढ्दै जानु र नयाँ कम्पनीले प्रवेशले बजार पुँजीकरण बढ्न महत्वपूर्ण योगदान दिएका छन् ।
यस क्रममा नेप्सेमा सूचिकृत हुने कम्पनीको संख्या बढेको र कारोबारमा लगानीकर्ता आकर्षित हुँदा बजार पुँजीकरण हालसम्मकै सबैभन्दा माथि पुगेको हो ।
पछिल्लो ६ महिनामा कोरोनाको संक्रमण शुरु भएपछि मात्रै बजारमा सूचीकृत भएका ६ वटा कम्पनीले मात्रै बजार पुँजीकरणमा १ खर्बभन्दा बढीको योगदान गरेका छन् ।
६ वटा नयाँ कम्पनीको मात्रै सवा १ खर्ब
नेप्सेका अनुसार पछिल्लो समय सूचिकृत भएका नयाँ ६ वटा कम्पनीको बजार पुँजीकरण मात्र १ खर्ब २४ अर्ब ३४ करोड ८१ लाख ६३ हजार २२१ रुपैयाँ छ ।
जसमा नेपाल पुनर्बीमा कम्पनीको ८७ अर्ब ६० करोड रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४ अर्ब ५४ करोड २० लाख ५५ हजार २२१ रुपैयाँ बजार पुँजीकरण छ ।
यता रिलायन्स लाइफ इन्स्योरेन्सको १३ अर्ब ८६ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सको ५ अर्ब २५ करोड, साधना लघुवित्त वित्तीय संस्था १ अर्ब ८७ करोड २९ लाख ८ हजार र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको बजार पुँजीकरण ११ अर्ब २३ करोड ३२ लाख रुपैयाँ छ ।
SHARE YOUR THOUGHTS