अब सहकारी संस्थाको संख्या १५ हजार, सदस्य डेढ करोड ! (प्रतिवेदनसहित) « Eglish Khabarhub

अब सहकारी संस्थाको संख्या १५ हजार, सदस्य डेढ करोड ! (प्रतिवेदनसहित)



काठमाडौं । राष्ट्रिय सहकारी विकास वोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको २५ वर्षे रणनीतिक योजना (२०७७/०७८–२१०२/०३)मा सहकारीको संस्था १५ हजार, सदस्यको संख्या डेढ करोड हुने प्रक्षेपण गरिएको छ ।

बुधबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बुझाएको योजनामा उक्त कुरा उल्लेख गरेको छ ।

हाल करिब ६६ लाख सहकारीका सदस्य रहेको भनिएको छ । तर दोहोरो सदस्यता व्यापकरुपमा रहेको र त्यसको एकिन तथ्याङ्क अहिलेसम्म छैन । आगामी दिनमा सदस्य नदोहोर्याउने र गुणस्तरीय सदस्यता कायम गर्न सकेको खण्डमा आगामि ५ वर्षमा ७० लाख पुग्ने योजनामा उल्लेख छ ।

यस्तै आगामी २५ वर्षमा १ करोड ४० लाख सदस्य पुग्ने अनुमान गरिएको छ । आगामि २५ वर्षमा मुलुकको ९० प्रतिशत घरधुरी कुनैनकुनै प्रकृतिको सहकारीमा आवद्ध हुने देखिएको छ । आगामी २० वर्षमा प्रति सहकारी सदस्य संख्या १७५ बाट बढेर ९३३ पुग्ने अनुमान गरिएको छ । यो अनुमान सहकारीको संख्या १५ हजारमा झार्ने प्रक्षेपण अनुसार गरिएको योजनामा उल्लेख छ ।

हाल रहेका सहकारीको संख्यालाई आगामी २५ वर्षमा दुई तिहाइले घटाई करिब १५ हजारको संख्या कायम गर्ने र प्रतिवेदनको प्रक्षेपण अनुसार आगामी ५ वर्षमा गरिबी निवारण कोष अन्तर्गत रहेका करिब ३२ हजार सामुदायिक संस्था लगायत मर्जरको नीति कार्यान्वयनमा जाने हुँदा सो अवधिमा सहकारीको संख्या केही बढ्ने भएतापनि तत्पश्चात्का वर्षहरूमा सहकारीको संख्या घट्ने अनुमान गरिएको छ ।

यस अनुमान अनुसार आगामी २५ वर्षमा कुल गार्हस्थ्य मूल्य अभिवृद्धिमा कृषि सहकारीको ५.९२ प्रतिशत, गैरकृषिको ५.४१ प्रतिशत, सेवा सम्बन्धी सहकारीको ३.२२ प्रतिशत र बचत तथा ऋण सहकारीको ०.४५ प्रतिशतको योगदान रहनुपर्ने देखिन्छ । सहकारीको संख्या, बचत एवं ऋण लगानी माथि उल्लिखित १०.५ को आर्थिक वृद्धि हासिल गर्न बढ्नुपर्ने देखिएको छ ।

योजनामा हाल कुल गार्हस्थ्य उत्पादनमा रहेको करिब ३ प्रतिशतको सहकारीको योगदानलाई पाँच गुणाले वृद्धि गरी आगामी २५ वर्षमा १५ प्रतिशत पु¥याउने लक्ष्य रहेको छ । यो लक्ष्य विश्व अर्थतन्त्रमा सहकारीको योगदान, नेपालको पन्ध्रौं योजना र दीर्घकालीन सोच तथा सहकारी बोर्ड तथा सहकारी महासंघको सुझावलाई समेत विचार गरी प्रक्षेपण गरिएको हो ।

पन्ध्रौं योजनामा प्रस्तुत दीर्घकालीन आर्थिक वृद्धिको लक्ष्य अनुरूप प्रतिवर्ष १०.५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमानको आधारमा प्रक्षेपण गरिएको छ । आर्थिक वृद्धि आर्थिक रूपले सक्रिय (१५ वर्ष माथि) जनसंख्याको हाल करिब ३१ प्रतिशतकोे हाराहारीमा रहेको सहकारी सदस्यको पहुँचलाई आगामि २५ वर्षभित्र ७५ प्रतिशतमा पु¥याउने समेत उल्लेख छ ।

अर्थतन्त्रमा सहकारीको योगदान बढाउँदै जानका लागि आगामी ५ वर्ष (सन् २०२५ को अन्त्यसम्ममा) सेयर पुँजी करिब ३ खर्ब हुने प्रक्षेपण गरिएको छ जुन कुल गार्हस्थ्य उत्पादनको ४.५७ प्रतिशत हुन आउँछ । त्यसैगरी, आगामी १०, १५, २० र २५ वर्षमा वर्षसम्म क्रमशः ४ खर्ब २० अर्ब, ६ खर्ब ८० अर्ब, १० खर्ब ९५ अर्ब र १७ खर्ब ७० अर्ब पुग्नेछ । जुन तत्कालिक कुल गार्हस्थ्य उत्पादनको क्रमशः करिब ४.९६ प्रतिशत, ५.१९ प्रतिशत, ५.३३ र ५.४२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

रणनीतिक लक्ष्य प्राप्तिको लागि सहकारी क्षेत्रको हालको करिब ३ खर्ब ४५ अर्ब बचत आगामी ५ वर्षमा करिब १० खर्ब ४० अर्ब हुने देखिन्छ, जुन कुल गार्हस्थ्य उत्पादनको करिब १४.४० प्रतिशत हुन आउँछ । त्यसैगरी, आगामी १०, १५, २० र २५ वर्षसम्ममा क्रमशः १६ खर्ब ७४ अर्ब, २४ खर्ब ४८ खर्ब, ३९ खर्ब ४३ अर्ब र ६३ खर्ब ४३ अर्ब हुनेछ । यो प्रक्षेपित कुल गार्हस्थ्य उत्पादनको क्रमशः करिब १५.२९ प्रतिशत, १५.८३ प्रतिशत, १६.१६ प्रतिशत र १६.३६ प्रतिशत हुनेछ ।

हाल रहेको ३ खर्ब ३२ खर्ब ऋण लगानी आगामी ५ वर्षमा ६ खर्ब ५३ अर्ब पुग्नुपर्ने देखिन्छ । यो प्रक्षेपण कुल गार्हस्थ्य उत्पादनको करिब ११.४५ प्रतिशत हुन आउँछ । यसैगरी उक्त लगानी आगामी १०, १५, २० र २५ वर्षसम्ममा क्रमशः रु. ११ खर्ब ४० अर्ब, १९ खर्ब ४३ अर्ब, ३२ खर्ब ६५ अर्ब र ५४ खर्ब ४४ अर्ब हुने प्रक्षेपित अनुमान रहेको छ ।

अबको दिनमा सहकारीले उद्यमशीलता विकास र रोजगारी, अन्तर सहकारी, सहकारी तथा गैर सरकारी संस्था, निजी क्षेत्र र समुदायसँगको साझेदारी र संजाल,सहकारी चेतना अभिवृद्धि तथा लाभदायी साझेदारी विकास गर्ने र असल सहकारी अभ्यास, सुशासन र नियमनमा ध्यान दिनुपर्ने छ ।

Publish on: