उद्योग राज्यमन्त्री दुगडको कम्पनीले भन्यो- सेञ्चुरी ब्राण्डको नुनमा कालोबजारी भएको छैन « Eglish Khabarhub

उद्योग राज्यमन्त्री दुगडको कम्पनीले भन्यो- सेञ्चुरी ब्राण्डको नुनमा कालोबजारी भएको छैन



काठमाडौं । उद्योग राज्यमन्त्री मोतिलाल दुगड सञ्चालक रहेको दुगड स्पाइसेस एण्ड फुट प्रोडक्टस प्रालिले सेञ्चुरी ब्राण्डको नुनमा आफूहरुले कुनै पनि प्रकारको कालोबजारी नगरेको दाबी गरेको छ । केहीदिन यता दुगडले गैरकानूनीरुपमा सेञ्चुरी नूनको प्याकेजिङ गरेको र महंगोमा बिक्री गरी कालोबजारी गरेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्रीकोसमेत ध्यानाकर्षण गराएको थियो ।

‘मन्त्री दुगडको कम्पनीले बजारमा अत्यन्त गुणस्तरीय आयोडिनयुक्त आयोनून प्रतिकिलो २० रुपैयाँमा पाईरहेको अवस्थामा प्याकेजिङ्ग मात्र गरी प्रति १०० ग्रामको ३२ रुपैयाँ मूल्य निर्धारण गरी हदैसम्मको कालोबजारी तथा नाफाखोरीजन्य काम गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ र ३ बिपरित कृयाकलाप गरी सर्वसाधारण उपभोक्तालाई चरम शोषण गर्ने काम गरेको देखिएकोछ,’ मञ्चले लगाएको आरोपपत्रमा उल्लेख छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को अनुचित व्यापारिक तथा व्यवसायजन्य कृयाकलाप गर्न नहुने उल्लेख छ भएको तर राज्यमन्त्री दुगडले त्यसको ठाडो उल्लंघन गरेको मञ्चके दाबी छ । आयोडिनयुक्त नुन सरकारको साल्ट ट्रेडिङ कर्पोरेशन बाहेक अरु कसैले पनि बिक्री वितरण गर्न नपाउने कानूनी व्यवस्था भएको दलिल मञ्चले पेश गरेको थियो ।

तर उक्त आरोप झुटो भएको दाबी कम्पनीले गरेको छ ।

‘उद्योग विभागबाट सेञ्चुरी ब्राण्डका मसला र स्न्याक्स उत्पादन गर्ने अनुमति पाएको यस उद्योगले नुन पनि मसला वर्गमै पर्ने भएकाले स्वत अनुमति पाएको जानकारी गराउन चाहन्छौं । हमीले उत्पादन गर्ने प्रत्येक मसलामा नुन पनि हाल्नु पर्ने हुनाले विगत २०÷२५ वर्षदेखि नेपाल सरकारबाट नुन बिक्री गर्ने एकाधिकार पाएको साल्ट ट्रेडिङ कर्पोरेशनबाट नुन खरिद गरी प्रयोग गरिरहेका छौं । यसै सन्दर्भमा टेवुल साल्ट उत्पादन गरी उपभोक्तालाई सुविधाजनक डिब्बामा बिक्री वितरण गर्ने सम्बन्धी समझदारीपत्रमा साल्ट ट्रेडिङसँग हस्ताक्षर गर्ने आवश्यक तयारी गरिएको छ’ कम्पनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

यसैबीच साल्ट ट्रेडिङ कर्पोरेशनसँग किनेर परिक्षण उत्पादन गरी सुविधाजनक बट्टामा प्याक गरी बजार सर्वेक्षणका लागि बजारमा पठाइएको कम्पनीले जनाएको छ । कुनै पनि खाद्य सामाग्रीको उत्पादन र बिक्री वितरण गर्नुपुर्व खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिनुपर्ने भएकाले उक्त विभागसँग अनुरोध गरिएकोमा साल्ट ट्रेडिङ कर्पोरेशनको अनुमतिबिना यस्तो अनुज्ञापत्र उपलब्ध गराउन नसकिने जानकारी प्राप्त भएकाले र कर्पोरेशनले यसका लागि केही समय लाग्ने जनाएका कारण तत्कालका लागि परीक्षण उत्पादन पूर्णरुपमा बन्द गरेको कम्पनीले जनाएको छ ।

‘कुनै वस्तुको कृत्रिम अभाव गराएर अस्वाभाविक मूल्यवृद्धि गर्नुलाई कालोबजारी भनिन्छ । साल्ट ट्रेडिङ कर्पोरेशनबाट उत्पादित नुन बजारमा जति पनि उपलब्ध छ । हाम्रो उद्योगले विश्वका अनेकौं मुलुकमा भएको एउटा नयाँ प्रविधिको पुन प्रयोग गर्न मिल्ने, वर्षौंसम्म नबिग्रने, नुनको सेल्फ लाइफ वर्षौसम्म कायम राख्न अत्याधुनिक खाली बट्टा अन्य मुलुकबाट झिकाउनु पर्ने भएकाले यो टेबुल नुनको बहुउपयोगी बट्टाको मूल्य बढी पर्ने भएको हुनाले आधुनिक प्याकिङको नुन महंगो भएको हो । जुन नुनको मात्र मूल्य नभई प्याकिङको पनि मूल्य हो,’ कम्पनीले भनेको छ ।

आफ्नो उद्योगले परीक्षण उत्पादन गरेको टेबुल साल्टको उत्पादन लागतमा १२ प्रतिशत मात्रै नाफा राखी बजारमा बिक्री वितरण गर्ने गरी अधिकतम खुद्रा बिक्री मूल्य निर्धारण गरेको तथा सो को परल मूल्य र अन्य सबै विवरण सम्बन्धित निकायमा बुझाइसकेको कम्पनीले जनाएको छ ।

‘उपभोक्तालाई एउटा छनोटको सुविधा मात्र दिने गरी यो उत्पादन ल्याइएको हो, न कि अत्यावश्यकीय वस्तुमा कालोबजारी गर्ने उद्देश्यले यसको उत्पादन थालिएको हो,’ जारी विज्ञप्तीमा भनिएको छ, ‘यस उद्योगले सेञ्चुरी ब्राण्डका उत्पादनहरु १५ देशमा निर्यात गर्दै आएको, नेपालमा एफएमसीजीमा अब्बल स्थान हासिल गर्न सफल भएको र यस नुन लगायत कुनै पनि वस्तुको अबैध कारोबार र कालोबजारी नगरेकोा अवगत गराउन चाहन्छौं ।’

Publish on: