दशैंको लागि च्याङ्ग्रा ल्याउन निकै चुनौती, एक हजार मात्रै ल्याउने तयारी « Eglish Khabarhub

दशैंको लागि च्याङ्ग्रा ल्याउन निकै चुनौती, एक हजार मात्रै ल्याउने तयारी



काठमाडौं । दशैंतिहारका लागि उपत्यकामा च्याङ्ग्रा ल्याउन निकै चुनौतीको विषय बनेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । यो वर्ष च्याङ्ग्राको मूल्य महंगो भएको हुँदा उपत्यकामा च्याङ्ग्रा ल्याउन निकै चुनौती बनेको कम्पनीको प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

बजारमा कम्पनीले तोकेको मूल्यभन्दा पनि निकै बढी भएकाले च्याङ्ग्रामा कम ल्याउने निष्कर्षमा कम्पनी पुगेको छ ।

‘कम्पनीले गत वर्ष प्रतिकेजी ५६० रुपैयाँमा च्याङ्ग्रा खरिद गरेको थियो,’ उनले भनिन्, ‘यो वर्ष मूल्य बढ्ने अनुमानका साथ कम्पनीले ६ सय रुपैयाँमा खरिद गर्ने मूल्य तोकेको थियो । यसले गर्दा नै बजारमा धेरै असर परिसकेको छ ।’

उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष ४० रुपैयाँले बढाउँदा बजारमा सर्वसाधारणहरुलाई असर पर्ने र खरिद पनि कम हुने उनले अनुमान लगाएका छन् ।

एक हजार मात्रै ल्याउने तयारी

कम्पनीले १४ सय च्याङ्ग्रा र १६ सय बोका ल्याउने तयारी गरेको थियो । मुस्ताङबाट ढुवानी गर्नुपर्ने च्याङ्ग्राको मूल्य कम्पनीले अनुमान गरेभन्दा धेरै महंगो भएको हुनाले च्याङ्ग्राको संख्या घट्ने उनको भनाइ छ ।

कम्पनीले पछिल्लो छलफलबाट १४ सयबाट घटाएर करिब एक हजार मात्रै च्याङ्ग्रा ल्याउने तयारी गरेको प्रवक्ता सुवेदीले जानकारी दिइन् ।

अहिले च्याङ्ग्रा ढुवानी गर्नको लागि पनि एक हजारको मात्रै टेन्डर आह्वान गरेको उनले बताइन् । ‘एउटा च्याङ्ग्रा करिब २५ केजीभन्दा माथि नै हुन्छ । यसले गर्दा ढुवानीमा पनि समस्या र कोरोनाले गर्दा खरिद गर्ने क्षमता कम भएकाले च्याङ्ग्रा ल्याउन चुनौतीको विषय बनेको छ,’ उनले भनिन् ।

तर, कम्पनीले सकेसम्म भनेअनुसार च्याङ्ग्रा ल्याउनेमा प्रयास जारी रहेको उनले बताइन् ।

हाल कम्पनीले ल्याउँदै नल्याउने भन्ने अवस्थामा भने छैनन् । कम्पनीले सर्वसाधारणलाई सहज तरिकाले सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्य भएकाले यस कोरोनाको समयमा सुपथ मूल्यमै प्रदान गर्ने भएकाले यो वर्ष बजारमा च्याङ्ग्राको मूल्य धेरै नै बढी भएका कारण कम्पनीले कम संख्यामा ल्याउन थालेको उनले जानकारी दिइन् ।

‘कम्पनीले ल्याउने वा नल्याउने भन्ने पनि निकै चुनौतीको विषय बनेकाले त्यहाँको जिल्लाको व्यक्तिहरूसँग समन्वय गरेर ल्याउन सकिने वातावरणमा काम गरिरहेका छौं,’ उनले क्लिकमान्डूसँग भनिन् । साथै, घटस्थापनासम्ममा उपत्यकामा च्याङ्ग्रा ल्याउनेमा जोड दिएको उनले बताइन ।

त्यसैगरी, च्याङ्ग्रा ल्याउन निकै चुनौती भएकाले खसीबोका ल्याउन प्रयत्न गर्नुपर्ने देखिएको उनले बताइन् । उनका अनुसार च्याङ्ग्राको मूल्य वृद्धि हुनेवित्तिकै खरिद गर्न गाह्रो हुन्छ । त्यसले गर्दा च्याङ्ग्राको साट्टो बजारमा खसीबोकाको आवश्यकता अनुसार बजारमा माग आएमा कम्पनीले दशैंको अन्त्यसम्म उपस्थिति जनाउने उनले बताइन् ।

Publish on: