‘कोरोनाको समयमा अनुमान भन्दा धेरै बढ्यो रेमिट्यान्स’ « Eglish Khabarhub

‘कोरोनाको समयमा अनुमान भन्दा धेरै बढ्यो रेमिट्यान्स’



काठमाडौं । विश्व बैंकले कोभिड-१९ का कारण विश्व बजारमा रेमिट्यान्स घट्ने आंकलन गरेको थियो, तर नेपालमा भने रेमिट्यान्स बढेको छ ।

ब्रान्डवर्थ प्रा.लि.को आयोजनामा आयोजित ‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२०’ अन्र्तगत डिजिटल रेमिट्यान्स, दि कस्ट अफमुभिङ मनि सत्रमा, कोभिडले रेमिट्यान्सको दायरा बढाउन अझ मद्दत गरेको सरोकारवालाले बताएका छन् ।

कार्यक्रममा आइ एम ई ग्रुपका कार्यकारी अधिकृत सुमन पोखरेलले कोभिडको समयमा सबैजना आत्तिएको भएपनि विस्तारै बानी पर्दै गएको बताए । ‘हामीलाई पनि लागेको थियो धेरै नेपाली फर्किनेछ र रेमिट्यान्स घट्नेछ । धेरै नेपालीहरु फर्किनु पनि भयो तर फर्किनेहरुले पनि सामान नल्याएर पैसा नै पठाउनुभयो, त्यो पनि वैधानिक रुपमा । यसले गर्दा महामारीको समयमा रेमिट्यान्सको कारोबार बढ्न गएको हो’ उनले भने ।

उनका अनुसार पहिले धेरै अवैधानिक रुपमा पैसा विदेशबाट नेपाल पठाउने गरिन्थ्यो तर अहिले वैधानिक रुपमा आउन थालेको छ, नेपालमा मात्र होइन, दक्षिण एसियामा पनि बढेको छ । रेमिट्यान्स व्यावसाय पहिला भन्दा अहिले बढेको उनको तर्क छ ।

पछिल्लो समयमा रेमिट्यान्स क्षेत्रलाई कसरी नियमनगर्ने र व्यवस्थित बनाउने भन्ने विषयमा राष्ट्र बैंकले पनि धेरै चासो देखाइरहेको छ । जुन सबैको लागि राम्रो सुरुवात भएको उनको तर्क छ । यद्यपि बढ्दो डिजिटल कारोबार सँगै बढिरहेको चुनौतीहरुलाई पनि सम्बोधन गर्दै जानुपर्नेमा उनले जोड दिए ।

‘डिजिटल कारोबारको लागि इन्टरनेट सेवालाई पनि अझ बढि सहज गर्नुपर्ने छ, उनले भने ‘धेरै मान्छेहरु अझै पनि फोरजी नेटवर्क चलाउन पाएका छैनन ।’

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पछिल्लो समयमा प्रविधिको विकासले डिजिटल रेमिट्यान्सको राम्रो बृद्धि भइरहेको बताए । यस विषयमा धेरैलाई अझैँ पनि जानकारी नभएको उनको भनाइ छ ।

‘हाम्रो धेरै जसो ग्राहकहरु भनेको प्रवासी कामदारहरु हुनुहुन्छ । हामीले उहाँहरुलाई बुझाउन जरुरी छ किन हामीलाई डिजिटल रेमिट्यान्सको आवश्यकता किन छ र यसको प्रयोगको फाइदाहरु के के हुन्छन्’,उनले भने, ‘हाम्रो जस्तो देशमा अझैँ पनि करिव पाँचवर्ष लाग्छ नेपाल जस्तो मार्केटले डिजिटल रेमिट्यान्सलाई एडप्ट गर्न ।’

हरेक देशहरुमा रहेका लोकल एजेन्टहरुको कारणले पनि पैसा पठाउनेहरुको लागि वैधानिक बाटो महँगो पर्न गएको चौधरीले बताए । ‘हामीले हरेक ठाउँमा आफ्नो मान्छे राखेर ग्राहकहरुलाई डिजिटल कारोबार सम्बन्धि जानकारी दिन सक्नुपर्छ यद्यपी यो एकदमै चुनौतीपुर्ण छ ।’ उद्यमीहरुको हकमा भने नयाँ आउनेहरुको लागि पनि बजारमा अहिले धेरै राम्रो अवसर रहेको उनी बताउँछन् ।

म्याट टेक्नोलोजी इन्क नेपालका सह संस्थापक बाल कृष्ण जोशीले पछिल्लो समयमा विकास हुदैँ गइरहेको प्रविधिले गर्दा यो व्यवसायलाई धेरै सहयोग गरेको बताए । ‘कोरोना महामारीले गर्दा रेमिट्यान्स व्यवसायलाई झन धेरै बृद्धि हुने मौका दियो’,उनले भने, ‘यसले यस क्षेत्रमा थुप्रै अवसरहरु पनि बनाएको छ । अहिले त रेमिट्यान्समा लागत पनि घटिरहेको छ ।’ त्यसैले प्रतिस्पर्धामा उत्रिन नयाँ मान्छेहरुले नयाँ व्यावसायिक मोडेलहरु कस्तो कस्तो ल्याउँछन् भन्नेमा यो व्यावसायको भविष्य निर्भर हुन्छ ।

Publish on: