बैंक छिर्यो अख्तियारः डेढ अर्ब घोटला प्रकरणका अभियुक्तको बयान लिइँदै, को-को तानिए ? « Eglish Khabarhub

बैंक छिर्यो अख्तियारः डेढ अर्ब घोटला प्रकरणका अभियुक्तको बयान लिइँदै, को-को तानिए ?



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बैंकमा छिरेको छ । बैंकिङ कसूरका अभियुक्तलाई बोलाएर धमाधम बयान लिइरहेको छ ।

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब रुपैयाँ घोटाला काण्डमा संलग्न रहेका ब्यक्तिहरुको अख्तियारले फेरि बयान लिएको छ ।

घोटालामा संलग्न भएको आशंकामा धितो मूल्याङ्ककर्ता, ऋणी तथा बैंकका कर्मचारीलाई बोलाएर धमाधम बयान लिइरहेको छ ।

अख्तियारले गत बुधबार घोटलामा संलग्न भएका १२ जना अभियुक्तहरुलाई बयानका लागि आउन बाटोको म्यादबाहेक ७ दिनको समय दिँदै सार्वजनिक सूचना नै जारी गरेको थियो ।

अभियुक्तहरुको स्थायी ठेगानामा सूचना पठाउँदा अभियुक्तहरुले कुनै रेस्पोन्स नगरेपछि बयानका लागि सार्वजनिक सूचना प्रकाशित गर्नु परेको अख्तियारले जनाएको छ ।

‘अभियुक्तहरु मध्ये १/२ जनाले अख्तियारमा आएर बयान दिएका छन्,’ अख्तियार स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

बयानका लागि तत्कालिन रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सहायक महाप्रबन्धक प्रदीप बहादुर कर्माचार्य, सञ्चालक प्रतिनिधि साधारण सेयरधनी सदस्य सञ्चालक भरतकाजी श्रेष्ठ, बादशाह फुडल्याण्ड प्रालिका सञ्चालक ऋषिस्वर थपिलया, एनबिडिएस सुपर मार्ट प्रालिका सञ्चालक अनोज श्रेष्ठ, सहायक महाप्रबन्धक रामचन्द्र बसौलालाई बोलाएको थियो ।

त्यसैगरी, हजुरको हार्ड वेयर पसलका सञ्चालक ऋणी मुकुन्द प्रसाद पराजुली, स्वतन्त्र धितो मूल्यांकनकर्ता, सिटी इन्जिनियरिङ्ग कन्सलटेन्सीका सञ्चालक नरेश स्वाँर, तत्कालीन एपेक्स डेभलपमेण्ट बैंकका सहायक अधिकृत पदमा कार्यरत सन्तोष धिताल, राम शाह बहुमुखी व्यापार कम्पनी प्रालिका सञ्चालक राम बहादुर शाह, तत्कालीन रोयल मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिका देवराज ढुंगाना, रोशन इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनियर कोमानन्द अधिकारी, पञ्चकन्या सप्लायर्सका सञ्चालक नरेश दाहाललाई पनि अख्तियारले बयानका लागि बोलाएको थियो ।

रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स रोयल मर्चेन्ट, अपि फाइनान्स र रारा डेभलपमेन्ट बैंक आपसमा गाभिएर एपेक्स डेभलपमेन्ट बैंक बनेका थिए। २०७३ पुस १७ गते एपेकस डेभलपमेन्ट एनसीसी बैंकमा गाभिएर एकीकृत कारोबार शुरु गरिसकेको छ ।

एनबी समूहले मर्जरको क्रममा ड्यू डेलिजेन्स अडिट (डीडीए) गर्ने कम्पनीसँगको मिलोमतोमा एपेक्स डेभलपमेन्ट बैंकको खराब कर्जा पनि असल कर्जामा गणना गराई मर्जका पार्टर संस्थाहरुलाई करोडौं रुपैयाँ क्षति गराएको दाबी गर्दै गत २०७४ बैशाख २४ गते मुद्दा दायर गरेको थियो । त्यसको ४ दिनपछि अर्थात् बैशाख २८ गते पाटन उच्च अदालतले आदेश दिएको थियो ।

२०७२ मंसिर ११ गते मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरेपछि मर्जरको फाइदा उठाउँदै तत्कालिन एपेक्स डेभेलपमेन्ट बैंकले दरबार मार्ग , लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ नोक्सानी गरेको राष्ट्र बैंक र प्रहरीको अध्ययनले देखाएको छ ।

मुख्य अनियमितताहरु

  • कमशल धितो भिरालो पाखोबारी , बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी गरेको ।
  • कृतिम ऋणीहरु खडा गरिएको ।
  • निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको ।
  • ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको ।
  • मोटरबाटो नभएको भिरालो पाखो बारीहरु खेत वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेको ।
  • धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच,रोक्का, कर्जा तमसुक,कर्जा प्रवाह एकै दिनमा गरेको ।
  • कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको ।
  • कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको ।
  • सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पून दोस्रो कर्जा प्रवाह गरेको ।
  • एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको ।
  • सर्वसाधारण निक्षेप कर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको ।
  • अधिकांश धितो मुल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको ।

Publish on: