काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले प्रत्येक वर्ष आन्तरिक श्रम बजारमा प्रवेश गर्ने श्रमशक्तिलाई ध्यानमा राखी रोजगारीका अवसरहरू उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा शुभकामना दिँदै सो बताएका हुन् । मन्त्री यादवले वैदेशिक रोजगारीमा नेपाली श्रमिक र तिनका परिवारको सुरक्षा, हित र कल्याणलाई सुनिश्चित गर्नेमा देखिएका चुनौतीहरूको सामान गर्दै सरकारले समूचित व्यवस्थापनका लागि निरन्तर अगाडि बढिरहेको बताए ।
त्यस्तै विश्व महामारीरुपमा देखा परेको कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राखी विगतको वर्षभन्दा पृथकरुपमा र साथै सुरक्षित हुने गरी आप्रवासन दिवस मनाउनुपर्ने परिस्थिति सिर्जना भएको जनाएको छ ।
त्यसैगरी, नेपालमा श्रमिकहरूको अधिकारका लागि नीतिगत तथा कानूनी आधार तयार भइरहेको र योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयनमा भइसकेको बताएका छन् ।
मन्त्री यादवले श्रमको सम्मान गर्दै प्रत्येक कामदारको हकअधिकार रक्षाका लागि श्रम ऐन, २०७४ का साथै योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताए । साथै, सीपयुक्त जनशक्तिको विकासका लागि समेत तदारुकताका साथ गृहकार्य अगाडि बढाइएको जनाएको छ ।
त्यस्तै, वैदेशिक रोजगारीलाई सबैले अनुभूति गर्न सक्ने गरी सुरक्षित, व्यवस्थित, मर्यादित तथा तुलनात्मकरुपमा बढी लाभदायी बनाउन सरकार गम्भीरतापूर्वक अगाडि बढेको बताए ।
आप्रवासीमाथि देश, जाति, धर्म, भाषा आदिका आधारमा हुने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसङ्घबाट १८ डिसेम्बर १९९० का दिन आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरुको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित भएको थियो ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००० डिसेम्बर १८ डिसेम्बरका दिनलाई अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सोही दिनको समर्थन गर्दै नेपालले पनि डिसेम्बर १८ का दिन विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउँदै आएको छ ।
हाल विश्वभर २७ करोड २० लाख मानिस आप्रवासी छन् । जसमा ५२ प्रतिशत पुरूष छन् भने ४८ प्रतिशत महिला छन् । त्यसैगरी विश्वका सबैभन्दा बढी आप्रवासनको तथ्याङ्क हेर्दा भारत अगाडि छ ।
भारतको मात्रै एक करोड ७५ लाख श्रमिकहरू देशबाहिर रहेको जनाएको छ । भारतपछि लगातार मेक्सिको र चीन छ । यी देशको क्रमश १ करोड १५ लाख र १ करोड ७ लाख मानिस देशबाहिर फ्याक्ट रिसर्च एनालाइटिक्सको तथ्याङ्कले देखाउँदछ ।


प्रतिक्रिया