बैंकलाई शाखा नजिकका तरकारी बजारमा ‘क्यूआर कोड’ सेवा शुरु गर्न गभर्नरको निर्देशन « Eglish Khabarhub

बैंकलाई शाखा नजिकका तरकारी बजारमा ‘क्यूआर कोड’ सेवा शुरु गर्न गभर्नरको निर्देशन



काठमाडौं । काठमाडौं । बैंक तथा वित्त कम्पनीले तरकारी बजारमा क्यूआर कोड भुक्तानी सेवा संचालन गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले हरेक शाखा नजिकका तरकारी बजारमा क्यूआर कोड भुक्तानी सेवा शुरु गर्नु पर्ने बताएका हुन् ।

उनले नेपाल बैंकर्स संघको बार्षिक साधारण सभामा बोल्दै हरेक बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नु पर्ने बताएका हुन् ।

‘राष्ट्र बैंकको नेतृत्वमा केही दिन अगाडि काठमाडौंको नक्साल तरकारी बजारमा क्यार कोड भुक्तानी शुरु गरिएको छ,’ उनले बैंकर्स संघको बार्षिक साधारण सभामा भने, ‘सबै बैंक, बैंकका शाखाले आफ्ना ठाँउमा नजिकका तरकारी बजारहरुमा क्यूआर कोड शुरु गर्न आह्वान गर्छु ।’

विभिन्न रोगहरुको संक्रमणबाट क्यूआर कोड भुक्तानी सुरक्षित रहने हुँदा आगामी एक वर्ष भित्र मुलुकभर क्यूआर कोड संचालनमा ल्याएर तरकारी खरिद गर्न जाँदा रकम बोक्नु नपर्ने स्थिती बनाउने उनले बताए ।

साना पसलहरुमा पहिलो प्राथमिकतामा राखेर शुरु गर्दा अन्य ठुला पसलहरुले स्वत शुरु गर्ने हुँदा तरकारी पसलबाट क्यूआर कोड भुक्तानी सेवा संचालन गर्न शुरु गरिएको उनको भनाइ छ ।
यस्तै, बैंकहले नगद कारोबारलाई निरुत्साहित गर्दै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न विभिन्न योजना बनाइ अघि बढेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘नेपालमा मोबाइल÷इन्टरनेट तथा अन्य प्रविधिको प्रभावकारी विस्तारले गर्दा बैंकहरुलाई ब्रिक बैंकिङ्गबाट क्लिक बैंकिङ्गमा फड्को मार्न सहज हुने देखिन्छ’ उनले भने, ‘बैंकहरु यस दिशा तर्फ लागि पनि रहेका छन्, जति चाँडो हामी डिजिटल च्यानलको विस्तार गर्न सक्छौं, त्यति नै चाँडो सबै खाले ग्राहक वर्गमा सहजता आइ हाम्रो अर्थतन्त्रको विस्तारमा पनि सहयोग पुग्दछ ।’

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको डिजिटल नेपाल बनाउने उद्देश्य अनुरुप हामी राष्ट्र बैंकको मार्गदर्शन अनुसार यस कामलाई अगाडि बढाउने उनको प्रतिबद्धता छं ।

Publish on: