काठमाडौं । मुलुकभर रहेका ७५३ वठा स्थानीय तहमध्ये मंसिर महिनासम्म ७४९ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।
प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा हुनुपर्ने प्रावधान अनुसार अब जम्मा ४ वटा स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा पुग्न बाँकी छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत वर्षको मंसिर महिनासम्ममा ७४३ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।
हालसम्म शाखा पुग्न नसकेका स्थानीय तहमा ताप्लेजुङ जिल्लाको मिक्वाखोला, धादिङको रुवी भ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको काँडा मात्रै बाँकी छन् ।
यसअघि सबै स्थानीय तहमा गत असार मसान्तसम्ममा कम्तीमा वाणिज्य बैंकको शाखा बिस्तार हुनुपर्ने व्यवस्था थियो । तर कोरोना महामारीका कारण निर्धारित समयमा सबै स्थानीय तहमा बैंकका शाखा बिस्तार हुन सकेको छैन ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७७ मंसिर मसान्तसम्म कुल २११ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये १५९ संस्थाहरुको इजाजत खारेज हुन गई ५२ संस्था कायम भएका छन्।
SHARE YOUR THOUGHTS