काठमाडौं । कोभिड-१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् ।
निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका छन् ।
नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकार इँटा उद्योगीले कोभिडकै कारण अर्बौं रकम गुमाएको बताउँछन् । गत वर्ष ढिलोसम्म पानी परिरहेकाले धेरै इँटा नोक्सान भएको थियो । इँटा बन्ने समयमा कोभिडको प्रभावका कारण व्यवसायी धरासायी भएको उनको भनाइ छ ।
‘४० प्रतिशत उद्योग अहिले पनि बन्द छन् । चलेका उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्,’ उनले भने । उनले उद्योगीको भट्टामा इँटा नभएको, उठ्नुपर्ने रकम पनि खासै बाँकी नरहेको तर ऋण मात्रै बाँकी रहेको गुनासो गरे ।
इँटा उद्योग आत्मनिर्भर भए पनि मजदुर भने भारतीयमा निर्भर हुनुपर्ने बाध्यता छ । गत वर्षहरुको तथ्यांकलाई हेर्दा ६६ प्रतिशत मजदुर भारतीय हुने गरेका छन् ।
यस क्षेत्रका तीन लाखमध्ये दुई लाख भारतीय मजदुर हुने गरेका थिए उद्योगीले उद्योग सञ्चालन गर्न नसक्नुको पछाडि भारतीय मजदुर र लगानीयोग्य पूँजीको अभाव भएको उनको भनाइ छ ।
भारतीय मजदुर आउन चाहेका छैनन् भने ल्याउने अवस्था पनि कठिन भएको उको भनाइ छ । इँटा उत्पादन गरेर पनि थन्क्याएर राख्नुपर्ने अर्काे बाध्यता रहेको चित्रकार बताउँछन् ।
महासंघका प्रथम उपाध्यक्ष नारायण सापकोटा बजारमा इँटाको माग नै कम हुँदा समस्या आएको बताउँछन् । मौसममा भर पर्नुपर्ने भएकाले यो व्यवसाय जोखिमपूर्ण भएको उनले बताए ।
‘कोभिडका कारण धेरै उद्योग पुनः सञ्चालन हुने अवस्थामा छैनन्’ उनले भने ।
नेपालमा वार्षिक ३ अर्ब वटा इँटा उत्पादन हुने संघको तथ्यांक छ । देशभरमा १ हजार ८०० उद्योग छन् । सापकोटाको भनाइमा नयाँ ऋणीले सस्तो ब्याजमा ऋण पाए पनि पुरानाले महँगो तिरिरहनु पर्दा नोक्सान बढ्दो छ ।
उद्योग नचले पनि जग्गा भाडा र कर्मचारी पाल्नुपर्ने बाध्यता उद्योगसँग रहेको छ ।
उद्योग सञ्चालन गर्न २ करोडदेखि १५ करोडसम्म लगानी गर्ने गरेको व्यवसायीको भनाइ छ । स्थानीय तहहरुले माटो ल्याउन समस्या खडा गर्ने, अनावश्यक कर लगाउने, स्थानीयवासीले प्रदूषणको नाममा अनावश्यक दुःख दिने गरेका कारण पनि यो व्यवसाय प्रभावित भएको सापकोटा बताउँछन् ।
पछिल्ला वर्षमा प्रदूषणरहित चिम्नी निर्माण गरी इँटा उत्पादन गरिँदै आएको छ । कोभिडले दाङभन्दा पश्चिम क्षेत्रमा कम प्रभाव पारेको भए पनि देशका अन्य क्षेत्र पूर्णरूपमा प्रभावित भएको व्यवसायी बताउँछन् ।
चितवनको खैरहनीमा रहेको खनाल इँटा उद्योगका सञ्चालक ईश्वरी पण्डित जिल्लाका १८ उद्योगमध्ये दुई वटा मात्रै जेनतेन सञ्चालनमा आएको बताउँछन् । उनले गत चैत ११ गतेयता उद्योग सञ्चालन गर्न नसकेको गुनासो गरे ।
उद्योग पूर्णरूपमा नोक्सानमा गएको भन्दै उनले मजदुरका समस्या समाधान र पुनःसञ्चालनका लागि सुलभ ऋणको व्यवस्था हुनुपर्ने बताए । । पण्डितले भने ‘सरकारले हेरेन भने आत्मनिर्भर यो व्यवसाय संकटमा पर्छ ।’
स्वदेशमा उत्पादन हुने भएकाले देशको ठूलो धनराशी विदेशिनबाट बचेको भन्दै उनले सरकारी सहयोग भएमा निर्यातसमेत गर्न सकिने बताए ।
विगतका वर्षमा भारतीय सीमा क्षेत्रमा नेपालबाट इँटा जाने गरेको उनले स्मरण गराए । । नेपाली इँटा उच्च गुणस्तरको हुने गर्दछ । पछिल्ला वर्षमा इँटाको विकल्पमा विभिन्न उत्पादन बजारमा आउन थालेपछि निर्माण क्षेत्रमा यसको प्रयोगसमेत घट्दै गएको हो ।
महासंघले प्रदूषण र लागत घटाएर इँटा उत्पादनका लागि पहल गरिरहेको छ । नेपालका ३३ जिल्लाका व्यवसायी संगठित छन् । हालसम्मको तथ्यांकलाई हेर्दा रौतहटमा सबैभन्दा बढी १६० वटा उद्योग छन् ।
SHARE YOUR THOUGHTS