काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिरमा क्यूआर कोड सेवा सञ्चालनमा आएको छ । फोन पेको सहकार्यमा बैंंक अफ काठमाण्डूले सञ्चालनमा ल्याएको उक्त क्यूआर कोड सेवाको शुभारम्भ राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरे ।
यो सेवाको शभारम्भ भएसँगै अब भगवान पशुपतिनाथलाई विद्युतीय माध्यमबाट दान दिन सकिने भएको छ । शुक्रबार बिहान राष्ट्र बैंकका गभर्नर अधिकारीले पशुपति मन्दिर परिसरको दान पेटिकामा रहेको बैंक अफ काठमाण्डूको क्यूआर कोडमार्फत् दान दिए ।
देशको भुक्तानी प्रणालीलाई नगदरहित बनाउने उदेश्यले राष्ट्र बैंकले क्यूआर कोडलगायत अन्य विद्युतीय भुक्तानीका माध्यम प्रयोग गर्ने अभियान नै सञ्चालन गरेको छ ।
‘हामीले भगवानलाई नगद भेटी चढाउँदै आएका थियौं तर त्यो नगद भगवानले पक्कै देख्नुहुन्न, हामीले फिल गर्ने हो,’ गभर्नर अधिकारीलेभ भने, ‘हामीले क्यूआर कोड स्क्यान गरेर भेटी चढायौं भने पनि उहाँले पाउनु हुन्छ,।’
भगवान अन्तर्यामी भएकाले विद्युतीय भुक्तानीबाट दिएको दक्षिणाको पनि भगवानले प्राप्त गर्नुहुन्छ । नगदको कारोबार सामाजिक विकृतिको जड भएकाले नगद चलाउने काम कमभन्दा कम गर्दै जानुपर्ने उनको भनाइ छ ।
‘म नोटमा हस्ताक्षर गर्ने व्यक्ति हुँ तर म भनिरहेको छु कि मैले हस्ताक्षर गरेको नोट तपाईंहरुले कम चलाइदिनुहोस्, नमुनाकोरुपमा मात्रै प्रयोग गर्न पाइयोस्,’ उनले भने, ‘सबैले डिजिटल कारोबार गर्नुहोस् ।’
डिजिटल कारोबारले समाजलाई पारदर्शी बनाउने र समयको पनि बचत हुने उनको भनाइ छ । क्यूआर कोडमार्फत् भुक्तानी गर्दा कति पनि पैसा विदेश नजाने भएकाले यसको व्यापक प्रयोग गरिदिन गभर्नरले आग्रह गरे ।
यो सेवालाई अझ प्रभावकारी बनाउन फोन पेलाई आग्रह गरे ।
बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले नगदरहित समाज निर्माण गर्ने राष्ट्र बैंकको अभियान अन्तगर्तत आफ्नो बैंकले पशुपतिजस्तो पवित्र स्थानमा क्यूआर कोड सेवा शुरु गर्न पाएकोमा खुसी व्यक्त गरे ।
‘नगदको कारोबारले अनेकौं विकृतिहरु ल्याउँछ, कोरोना महामारीपछि विद्युतीय भुक्तानी बाध्यता पनि बनेको छ,’ उनले भने, ‘मलाई विश्वास छ आगामी केही वर्षमा यो समाज क्यासलेस बन्नेछ ।’
SHARE YOUR THOUGHTS