चिनियाँ प्रख्यात अर्बपति ज्याक मा प्रति चीन सरकार अलि बढी नै आक्रामक भएको पाइएको छ ।
कानूनी डण्डा चलाएर ज्याक मालाई नियन्त्रण गर्ने चिनियाँ तयारी रहेको भन्दै चौतर्फी आलोचना भएको छ ।
अलिबाबालाई चिनियाँ नियामक निकायले कारवाहीको तयारी गरेको छ ।
ई–कमर्शको क्षेत्रमा विश्वचर्चित कम्पनी अलिबाबामाथि झण्डै ३ अर्ब डलर बराबरको कारवाही गर्ने तयारी गरिएको छ ।
जानकारहरुका अनुसार नियामकले २ अर्ब ७८ करोड डलर जरिवाना गरेको छ । एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको दावी छ ।
चीनको नियामक निकाय ‘बजार नियमन सम्बन्धी राज्य प्रशासन (एसएएमआर)’ ले गत डिसेम्बरमा अलिबाबामाथि शुरु भएको अनुसन्धानका आधारमा उक्त जरिवाना गर्नु परेको निष्कर्ष सार्वजनिक गरेको छ ।
अलिबाबाको प्लेटफर्मबाट सामान बिक्री गर्न चाहने कैयौं व्यवसायीलाई अलिबाबाले जानाजान प्रवेश नदिएर बजारमा आफू र आफ्ना निकटका केही कम्पनीलाई मात्र पहुँच दिएको अनुसन्धानबाट भेटिएको नियामक निकायको भनाइ छ ।
एसएएमआरका अनुसार सन् २०१५ देखि अलिबाबा समूहले आफूलाई अनुचित लाभ लिनेगरी आफ्नो शक्तिको दुरुपयोग गरेको पाइएको छ ।
कम्पनीको यस्तो व्यवहारले प्रतिस्पर्धा र नवीनतालाई सीमित गरेको छ एवं व्यवसाय तथा उपभोक्ताको अधिकार र रुचिलाई उल्लंघन गरिदिएको नियामक निकायले जनाएको छ ।
ब्लुमबर्गका अनुसार अलिबाबामाथि गरिएको यो जरिवाना आजसम्मकै सबैभन्दा ठूलो हो । सन् २०१५ मा क्वालकममाथि झण्डै १ अर्ब डलरको जरिवाना गरिएको थियो ।
अलिबाबामाथिको उक्त जरिवाना कम्पनीले सन् २०१९ मा गरेको कूल बिक्रीको करिब चार प्रतिशत हो । सन् २०१९ मा अलिबाबाले चार खर्ब ५६ अर्ब युआन बराबरको सामान बिक्री गरेको थियो ।
अलिबाबाले सामाजिक सञ्जालमा जरिवानाका सम्बन्धमा स्पष्ट गर्दै सरकारले लगाएको जरिवाना तिर्न बुझाउन राजी भएको जनाएको छ । साथै कम्पनीले सरकारका नियमहरु पूर्ण पालना गरी सामाजिक उत्तरदायित्व निर्वाहका साथ व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता पनि जनँएको छ ।
अलिबाबा र अन्य अग्रणी चिनियाँ प्रविधि कम्पनीहरुमाथि पछिल्ला केही समयदेखि चीन सरकारले छानबिन शुरु गरेको थियो । खासगरी चीनका ठूला कम्पनीले चीन सरकारका नीति नियममाथि दबाब बढाउन थालेपछि अनुसन्धान थालिएको हो ।
आजभोलि चीनका करोडौं नागरिक चिनियाँ प्रविधि कम्पनीहरुको प्रयोग गरिरहेका छन् । ग्राहकहरुले एकआपसमा सञ्चार गर्न, सामान खरिद गर्न, बिल भुक्तानी गर्न, ट्याक्सी खोज्न, ऋण लिन एवं अन्य अनेक किसिमका दैनिक काममा यिनै विशाल प्रविधि कम्पनीहरुको प्रयोग गर्न थालेका छन् ।
तर अलिबाबामाथि चीन सरकार निकै बढी क्रुद्ध भएको थियो । गत अक्टोबरमा अलिबाबाका सहसंस्थापक ज्याक माले चिनियाँ नियामक निकायको व्यवहारलाई लिएर आलोचना गरेपछि अलिबाबामाथिको छानबिनलाई तीव्र बनाइएको थियो ।
अलिबाबाले स्थापना गरेको अर्को कम्पनी एन्ट समूहको सेयर जारी गर्ने प्रक्रिया चीन सरकारले अबरुद्ध गरिदिएपछि ज्याक मा बढी नै आक्रोशित भएका थिए ।
ई–कमर्श क्षेत्रका विशाल कम्पनीहरु अलिबाबा र जेडी डट कम तथा टेन्सेन्टले चिनियाँ जीवनशैलीमै निकै प्रभाव सिर्जना गरिसकेका छन् ।
अमेरिकी प्रतिस्पर्धी कम्पनीलाई चीनले आफ्नो बजारमा प्रवेश नदिएपछि अलिबाबा समेतका चिनियाँ कम्पनीले देशभित्रको ठूलो बजारबाट राम्रै फाइदा लिइरहेका छन् ।
चिनियाँ कम्पनीहरुले उपभोक्ताका निजी विवरण सङ्ग्रह गरेको भनेर विवाद उत्पन्न भइरहेका समयमा अमेरिकी ठूला प्रविधि कम्पनीहरु फेसबुक, गूगल माथि पनि देशभित्र र बाहिर छानबिन र अनुसन्धान जारी छन् ।
एउटा विज्ञप्ति प्रकाशित गर्दै अलिबाबाले उक्त आदेशलाई स्वीकार गर्दै तदनुरूप पालना गरिने जनाएको छ ।
विश्लेषकहरूले उक्त जरिवानालाई बेइजिङ आफूलाई निकै ठूला लागेका इन्टरनेट मञ्चहरूविरुद्ध जान खोजेको सङ्केतका रूपमा लिएका छन्।
उसको काम डिजिटल भुक्तानी, ऋण र क्लाउड कम्प्युटिङ भनिने इन्टरनेटमा डेटा भण्डारण गर्ने सुविधा रहेको छ ।
सामान बिक्री उसको एउटा मुख्य गतिविधि भए पनि उसको काम डिजिटल भुक्तानी, ऋण र क्लाउड कम्प्युटिङ भनिने इन्टरनेटमा डेटा भण्डारण गर्नेसम्मका छन् ।
चीन सरकारले लगाएको जरिवाना सन् २०१९ मा अलिबाबाले गरेको कुल आयको चार प्रतिशत रकम हो ।
नियामकहरूले अलिबाबाले केही अन्य बिक्रेतालाई अन्य मञ्चहरू प्रयोग गर्न रोक्दै प्रतिस्पर्धामा अवरोध पुर्याएको आरोप लगाएका छन्।
उक्त कम्पनीप्रति लक्षित कारबाहीको आरम्भ गत अक्टोबर महिनामा भएको थियो जतिखेर उक्त कम्पनीका सहसंस्थापक ज्याक माले चीनका प्रमुख नियामकहरूसमक्ष उनीहरूले नवप्रवर्तनलाई दमन गर्न खोजेको बीबीसीको विवरणमा उल्लेख छ ।
यस जरिवानालाई बजारमा अहिले एकाधिकारविरुद्धको एउटा घटनाको रूपमा हेरिने हङ्कङमा रहेको बोकम इन्टरन्याश्नलका अनुसन्धान प्रमुख होङ हाओले रोयटर्सलाई बताएका छन् ।
चीनका नियामकहरू बढ्दो प्रभाव भएका अन्य प्रविधि कम्पनीका कारण पनि चिन्तित छन् । चीनका निकै सफल उद्यमी ज्याक मा त्यहाँ निकै चर्चित रहेका छन् ।
गत महिना एकाधिकारविरोधी कानुनको उल्लङ्घन गरेको भन्दै चीनमा १२ कम्पनीहरूले जरिवाना तिरेका थिए । तीमध्ये टेन्सेन्ट, बाइडु, दिदी चुशिङ, सफ्टब्यांक र बाइटडान्ससँग सम्बन्धित एउटा कम्पनी रहेको छ ।
फोर्ब्सले हालै सार्वजनिक गरेर्कोे अर्बपतिहरूको सूचीमा चीनको बेइजिङ संसारमै सबैभन्दा धेरै अर्बपतिहरू भएको सहर बनेको उल्लेख गरेको छ । यही सन्दर्भमा ज्याक मा को कम्पनीमाथि जरिवाना गरिएको छ ।
विवरण अनुसार गत वर्ष ३३ जना अर्बपति थपिएपछि बेइजिङमा अर्बपतिको संख्या १०० पुगेको हो । विगत सात वर्ष सबैभन्दा धेरै अर्बपति भएको सहर अमेरिकाको न्यूयोर्कमा ९९ जना अर्बपति छन् ।
चीनले कोरोनाभाइरसलाई छिटै नियन्त्रणमा लिएको, प्रविधि कम्पनीहरूको सफलता र स्टक बजारका कारण न्यूयोर्कलाई पछाडि पार्न बेइजिङ सफल भएको हो ।– एजेन्सी
SHARE YOUR THOUGHTS