![](https://internal.appharu.com/wp-content/uploads/2021/08/Asian-Concreto-768x478.jpg)
काठमाडौं । युरोपियन तथा भारतीय मापदण्ड अनुसार निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको एसियन कंक्रिटोले अबदेखि नेपाल गुणस्तर मापदण्ड अनुसार पनि उत्पादन शुरु गरेको छ ।
गत वैशाख ७ गते नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह प्राप्त गरेसँगै कम्पनीले उत्पादन शुरु गरेको कम्पनीका अध्यक्ष मनिष रुंगटाले जानकारी दिए ।
‘नेपालमा यस्ता सामग्रीको मापदण्ड बनिसकेको अवस्थामा हामीले युरोपियन तथा भारतीय मापदण्डलाई अनुसरण गरेर विभिन्न सामग्री बनाइरहेका थियौं,’ उनले भने, ‘तर नेपाल सरकारले यससम्बन्धी मापदण्ड नै बनाएपछि एसियन कंक्रिटोले नेपाल गुणस्तर चिन्ह लिएको तथा अहिले सोही अनुसार उत्पादन गर्दै आएको छ ।’
हाल उद्योगले विभिन्न ३० प्रकारका निर्माण सामग्री उत्पादन गरिरहेको कम्पनीका निर्देशक अनिल जाटियाले जानकारी दिए । जसमध्ये कर्बस्टोन र इन्टरलक ब्लक नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो प्रडक्ट समेत भएको उनको भनाइ छ ।
कर्बस्टोन र इन्टरलक सरकारले निर्माण गर्ने पूर्वाधार विकासमै ८०÷९० प्रतिशत खपत हुने गरेको छ । यदि सरकारले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको प्रडक्ट मात्रै प्रयोग गरेमा सरकारको अर्बौ रुपैयाँ वार्षिक मर्मत सम्भारवापत हुने खर्च जोगिने कम्पनीका भाइस प्रेसिडेन्ट श्यामल झाको दावी छ ।
उद्योगबाट उत्पादन हुने कर्बस्टोन सडकको छेउ किनारा तथा डिभाइडरमा प्रयोग गरिन्छ भने इन्टरलक ब्लक फुटपाथदेखि सहरी क्षेत्रका भित्रि सडक बनाउन पनि प्रयोग गरिन्छ ।
प्रतिक्रिया