चर्चित नायिका करिष्मा मानन्धर व्यवसायमा लागिन् « Eglish Khabarhub

चर्चित नायिका करिष्मा मानन्धर व्यवसायमा लागिन्



काठमाडौं । नेपाली सिनेमा जगतकी सफल अभिनेत्री करिष्मा मानन्धर व्यापार व्यवसायमा लागेकी छन् ।

मानन्धरको कम्पनी रिसिक ट्रेडिङ कन्सर्न प्राइभेट लिमिटेड घरायसी रुपमा प्रयोग हुने इलेक्ट्रोनिक्स सामान उत्पादन तथा बिक्री वितरण गर्दै आएको भारतीय कम्पनी इन्टेक्सको नेपालका लागि आधिकारिक बिक्रेता बनेको हो ।

अभिनेत्री मानन्धर रिसिक ट्रेडिङको प्रबन्ध निर्देशक (म्यानेजिङ डाइरेक्टर) हुन् भने उनीको छोरी कविता मानन्धर एक्जुकेटिभ म्यानेजर हुन् ।

बुधबार काठमाडौंको एक होटलमा आयोजित पत्रकार सम्मलेनमा रिसिक ट्रेडिङका तर्फबाट म्यानेजिङ डाइरेक्टर र इन्टेक्सका कन्ट्री डाइरेक्टर विश्वास अग्रवालबीच उक्त सम्झौता भएको हो । इन्टेक्सको आधिकारिक बिक्रेता बनेसँगै उक्त कम्पनीका इलेक्ट्रोनिक्स तथा घरायसी प्रयोजन (होम अप्लाइन्स)का सामानको व्यवसायिक व्यापार तथा बजारीकरण रिसिक ट्रेडिङले गर्नेछ ।

मानन्धरको कम्पनी रिसिक ट्रेडर्सले इन्टेक्सले उत्पादन गर्दै आएको मोबाइल फोनलगायत टेलिभिजन, वासिङ मेसिन, रेफ्रिजेरेटर, पंखा, एसी, राइस कुकर, वाटर हिटर, ग्यास चुल्हो, जुसर, मिक्सरलगायतका घरायसी प्रयोगमा आउने इलेक्ट्रोनिक्स सामान बिक्री वितरण गर्नेछ ।

अभिनेत्री मानन्धरले आफु व्यापार व्यवसायमा लागेपछि मनोरन्जन उद्योग, अभिनय र सिनेमा क्षेत्रमा पनि सक्रिय रहने बताइन् । ‘कला क्षेत्र र व्यवसाय सँगसँगै अघि बढ्छ । दुवै क्षेत्रलाई म उत्तिकै महत्वमा राखेर काम गर्छु,’ मानन्धरले भनिन् ।

८ वर्षअघि इन्टेक्सले उत्पादन गरेको मोबाइल फोन पहिलोपटक नेपाल भित्रिएको थियो । सन् २०१५ मा नेपाल र भारतमा समेत सर्वाधिक लोकप्रिय ब्रान्डका रुपमा इन्टेक्स चिनिएको थियो ।

इन्टेक्स भारतीय बजारमा अढाई दशकदेखि घरायसी रुपमा प्रयोग हुने इलेक्ट्रोनिक्सका सामान उत्पादन तर बिक्री वितरण गर्दै आएको छ । यो कम्पनीले हाल विश्वका ४० देशमा आफ्ना उत्पादन बेचिरहेको कन्ट्री डाइरेक्टर विश्वास अग्रवालले बताए ।

https://www.facebook.com/clickmandu/videos/255347936445898

Publish on: