काठमाडौं । बीमा समितिको एउटा निर्णयका कारण नेपालका ऊर्जा उद्यमीहरु नराम्ररी मारमा पर्ने भएका छन् ।
बीमा समितिले सरोकार भएका ऊर्जा उद्यमीहसँग छलफल नै नगरी एकाएक निर्जीवन तर्फको बीमा शुल्क वृद्धि गरेका कारण जलविद्युत् आयोजनाको लागत समेत प्रतिमेगावाट थप १ करोड वृद्धि हुने भएको छ ।
सामान्यतया एक मेगावाट जलविद्युत् आयोजना निर्माणका लागि २० करोड रुपैयाँ लाग्थ्यो भने नयाँ व्यवस्था अनुसार अब थप १ करोड बढी लाग्ने भएको छ । समितिले गत असोज ६ गते जारी गरेको एक निर्देशन अनुसार अब बीमांक रकममा झण्डै ३० गुणा वृद्धि भएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इपान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
उदाहरणका लागि १ अर्ब लागतका कुनै जलविद्युत् आयोजनाले यसअघि २५ लाख रुपैयाँ मात्रै बीमाका लागि तिर्नुपर्दथ्यो । नयाँ व्यवस्था अनुसार अब शुरुमा नै ७ करोड ५० लाख रकम तिर्नुपर्दछ । त्यसपछि हरेक वर्ष ०.२५ प्रतिशतका दरले बीमांक रकम तिर्नुपर्दछ ।
‘आयोजनाको भौतिक संरचना निर्माणमा समितिको पछिल्लो निर्णयले प्रतिमेगावाट लागत ९५ लाख रुपैयाँ भन्दा बढी पर्ने देखिएको छ ’ इपानका अध्यक्ष आचार्यले भने ‘ समितिले सरोकारवालासँग कुनै छलफल नै नगरी एकलौटी तवरले बीमा रकममा वृद्धि गरेको छ । यो हामीलाई मान्य छैन ।
उनले बीमा रकम वृद्धि गरिनै थियो भने पनि सरोकारवालासँग एक पटक राय सुझाव लिएर वृद्धि गरिएको भए त्यसमा आफूहरुको पनि सहमति रहन सक्ने भएपनि समितिले आफूहरुलाई नगनेको उल्लेख गरे ।
समितिको पछिल्लो निर्देशिकाले सुरुङ निर्माणका क्रममा गरिने बीमाको हिस्सा जोड्दा भौतिक संरचनाको तुलनामा झण्डै दोब्बर पर्न जाने भएकाले छ । जस्तै भौतिक संरचना निर्माणको क्रममा प्रतिमेगावाट लागत ९५ लाख रुपैयाँ पर्छ भने सुरुङ निर्माणका लागि झण्डै दोब्बर पर्न जाने आचार्यको दावी छ ।
समितिले सुरुङ र जलविद्युत् आयोजना शीर्षकमा एक वर्षका लागि ७.५० प्रतिशत र हरेक वर्ष ०.२० प्रतिशतका दरले बीमा रकम तिर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै, जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माणका हकमा पनि ७.५० प्रतिशतको बीमा शुल्क लाग्ने व्यवस्था गरेको छ ।
इपानका उपाध्यक्ष मोहनकुमार डाँगीले आयोजनामा कुनै क्षति भए त्यसको बीमा दावी गर्दा भुक्तानी पाउन असाध्यै गाह्रो रहेको तर बीमा रकम मात्रै वृद्धि हुँदा अब जलविद्युत् आयोजना नबनाउन भन्ने जस्तो आशय देखिएको बताए । समितिले विभिन्न १५ शीर्षकमा निर्जीवन बीमातर्फको शुल्क वृद्धि गरेको छ ।
पछिल्लो पटक गत असार १ गतेको बाढी पहिरोका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेपछि बीमा समितिले बीमा शुल्कमा भारी मात्रामा वृद्धि गरेको इपानको भनाइ छ ।
बीमा दावी गर्दा तिर्न अटेर गर्ने निर्जीवन बीमा कम्पनीहरुको योजनामा आफूहरु माथि मार पारिएको ऊर्जा उद्यमीको आरोप छ । तोकिएको समयमा जलविद्युत् आयोजना निर्माण सम्पन्न नहुने अवस्था छ । प्राकृतिक विपत्ति तथा स्थानीय झमेलाका कारण आयोजनाको समय सीमा बढ्न जाँदा बीमा रकममा पनि ठूलै मार पर्ने ऊर्जा उद्यमीको भनाइ छ ।
ऊर्जा उद्यमी निर्जीवन बीमा कम्पनी आमनेसामने
समितिले उक्त निर्देशिका जारी गरेपछि छलफलका लागि समितिको कार्यालय पुगेका ऊर्जा उद्यमीसँग समितिले योजनावद्ध रुपमा ९ वटा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बोलाएर थर्काउने प्रयास गरेको समेत इपानको भनाइ छ ।
‘छलफलका लागि भनेर समितिका अध्यक्ष सूर्य सिलवालले बोलाए । हामी छलफलमा गयौ । तर समितिले ९ वटा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएको रहेछ ’ इपानका एक पदाधिकारीले भने ।
छलफलमा नेशनल इन्स्योरेन्स कम्पनीका प्रमुख रहेका भारतीय नागरिकले ऊर्जा उद्यमीको मान मर्दन हुने गरी अभिव्यक्ति दिएका थिए । उनले जलविद्युत् आयोजनाको बीमामा धेरै जोखिम रहेको भन्दै समितिले बढाएको बीमा शुल्क अझै कम भएको बताएका थिए ।
उनले तिर्ने भए तिर, होइन भने, तिमीहरुको कुनै पनि कुराको सुनुवाई हुँदैन समेत भनेको इपानका ती पदाधिकारीले जानकारी दिए । यस्तै, सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले समेत समितिको निर्णयको प्रतिरक्षा गरेका थिए ।
‘अवस्था कस्तो थियो भने, बीमा समितिका अध्यक्षलगायतका अधिकारी दर्शक जस्ता, निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारीहरु चाँही नियामक जस्ता थिए । हामीलाई यस्तो ज्यादती स्वीकार्य छैन ’ इपानका ती अधिकारीले भने । छलफलका लागि बीमा समितिले बोलाएर निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी समेत राखेर आफूहरुलाई धम्क्याएको ऊर्जा उद्यमीको भनाइ छ ।
SHARE YOUR THOUGHTS