![](https://internal.appharu.com/wp-content/uploads/2021/11/WHAT-THE-PLANT.jpg)
काठमाडौं । चावहिलका सबिन श्रेष्ठ होटलमा काम गर्थे । शुरुमा होटलमा जागिर गरे । र, पछि आफ्नै रेष्टुराँ खोले ।
तर समयले साथ दिएन । त्यसैबेलामा विश्वभर कोरोना संक्रमण बढ्यो । नेपालमा पनि लकडाउन भयो । श्रेष्ठले कैयन महिना रेष्टुराँमा चाबी लगाउनु पर्यो ।
उनले खर्च धान्नै सकेनन् । रेष्टुराँ सधैका लागि बन्द भयो ।
हातमा सीप हुनेलाई कामको अभाव हुँदैन । सबिनले पनि आफूसँग भएको सीप र साथीहरुको सीपलाई प्रयोग गरेर नयाँ काम गर्ने सोँच बनाए ।
उनीसँग क्यानभासमा आर्ट कोर्ने साथी थिए– उदय कर्मचार्य । साथीको सीपलाई अलिकति परिमार्जित गरेर व्यवसाय गर्ने निधो गरे । ताकी व्यवसायीक पनि होस् र आम्दानीको स्रोतपनि बनोस् ।
उनको योजना थियो घरभित्र लगाउने बिरुवाका गमलामा विभिन्न थरीका कला भर्ने । यस्तै काम गर्न उनका अन्य साथीहरुले पनि इच्छा देखाइरहेका थिए ।
उनले आफ्ना साथिहरूलाई बोलाए र सुनाए नयाँ व्यवसायीक योजना । साथीहरु पनि राजी भए ।
उनलाई साथ दिन आए उदय, प्रशिद्ध श्रेष्ठ, कमल प्रजापती, र विवेक कार्की । ६ जना साथीहरु मिलेर शुरु गरे गमलामा कला भर्ने कम्पनी – ‘ह्वाट द प्लान्ट’ ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/11/WHAT-THE-PLANT2.jpg)
‘क्यानभास आर्ट पहिलेकै चलन हो,’ सबिनले आफ्नो कामको बारेमा बताए, ‘हामीले बिरुवा रोप्ने गमलामा आर्ट गर्न थाल्यौं ।’
उनीहरुले कला भरेका गमलालाई घर, कोठा, रेष्टुराँ, अपार्टमेन्ट जस्ता ठाउँमा राख्न सकिन्छ । जसमा आफूले चाहेको बिरुवा, फूल फुलाउन सकिन्छ । गमलाको विरुवाले घरलाई हरियालीमात्र बनाए, सुन्दर कला पनि थपियो ।
‘यसले घर, रेस्टुराँ, अपार्टमेन्ट, अफिसलगायतका ठाउँमा शोभा बढाउछ,’ कमलले भने ।
कमल कम्पनीको मार्केटिङ र मल्टी–मिडियाको हेरिरहेका छन् ।
उदयले सन् २०१२ मा फाइन आर्टमा मास्टर्स गरे । पछि आर्टभन्दा पनि फोटो खिच्नेतिर लागे । ९ वर्षपछि ह्वाट द प्लान्टकै कारण फेरि आर्टमा फर्केको उदयले बताए । उदयले क्यानभास जस्तै पटमा पनि आर्ट बनाइरहेका छन् ।
‘शुरुमा मैले बनाएको आर्ट भनेको बुद्धको फोटो हो,’ उदयले भने, ‘पछि मैले सबै खाले गमलाहरुमा पोट्रेट बनाउन थालें ।’
‘आर्टले भरिएको गमलालाई अध्ययन टेबल, कार्यस्थान, बैठक कोठा, वा घरका जुनसुकै ठाउँमा राख्न सकिन्छ,’ कमलले भने, ‘मानिसकोे जीवनशैलीसँग कलालाई जोड्ने प्रयास गरिरहेका छौं ।’
उनीहरुले यो व्यवसाय शुरु गरेको तीन महिना भयो । यस अवधिमा ५ सय यस्ता कमला बिक्री गरिसकेका छन् । उनीहरुले बनाएको कलासहितको यस्तो गमलालाई ५० रुपैयाँदेखि १ लाख रुपैयाँ पर्ने सबिनले बताए । त्यस गमलामा बिरुवा पनि उपलब्ध हुन्छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/11/WHAT-THE-PLANT1.jpg)
उनीहरुले शुरु गरेको नयाँ व्यवसायले ‘गार्डेनिङ’ र ‘होम डेकोरेसन’मा नयाँ आयम थप्ने उदयको विश्वास छ । उनको कामले घरभित्र सजावटका लागि राखिने कृत्रिम फूल विरुवा विस्थापित हुने उनी बताउँछन् ।
‘आर्ट ग्यालरीमा जस्तै आफ्नै घरका गमलामा आर्ट ग्यालरी बनाउन सकिन्छ,’ उदय भन्छन,’ ‘यसले घरको सुन्दरतालाई अझ बढाउँछ ।’
इन्डोर प्लान्ट रोप्ने चलन सोखमात्रै होइन, अहिले यो व्यवसायनै बनेको छ । हरेक मान्छेलाई हरियाली चाहिएको छ । त्यसमा अलिकति कला भर्ने हो भने त्यसले घरलाई सुन्दर बनाउँछ । यसले उनीहरुको विहानदेखि बेलुकासम्मको दैनिकीलाई अझ सुन्दर बनाउँछ भन्ने यी साथीहरुको विश्वास छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/11/WHAT-THE-PLANT5.jpg)
उनीहरुले गमलामा विभिन्न कला, चित्र, आकृति बनाउँछन् । भगवान, हिमाल, भेषभुषा, विभिन्न कलाकारको फोटो, कविकलाकार जस्ता अनेक कला भर्छन् ।
उनको काम यतिमा मात्र सीमित छैन । ग्राहकले आफ्नो फोटो, जोडीको फोटोसमेत बनाइदिन भन्छन् । जन्मदिन र विशेष अवसरमा दिने उपहार पनि यिनै गमलाका चित्र बनेका छन् ।
उनको विचारमा यसले शोभामात्रै बढाउँदैन, यसले युवापुस्तामा नेपालको संस्कृति, धर्म, कलाचित्र र इतिहासलाई रुपान्तरण गर्दै जान्छ ।
६ जना साथी मिलेर शुरु गरेको यो कलात्मक गमलाको माग उच्च छ । अहिले उनीहरुले अनलाइनबाट बेचिरहेका छन् । अब बत्तिसपुतली र बौद्धमा पसल खोल्ने तयारी गरिरहेका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/11/WHAT-THE-PLANT4.jpg)
स्वदेशमा मात्र होइन, उनीहरु बनाएका कलाको माग अमेरिका, जापान, दुवई, अष्ट्रेलियालगायतका मुलुकबाट पनि आइरहेको छ ।
उनीहरुको अबको चिन्ता भनेको माटोमा कोरिएको कलालाई कसरी लामो समयसम्म टिकाउने भन्ने हो । माटोको भाँडोको टिकाउन छोटो हुन्छ ।
‘यसलाई वर्षौं कसरी टिकाउन सकिन्छ भनेर अध्ययन गरिरहेका छौं,’ उदयले भने ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/11/WHAT-THE-PLANT6.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2021/11/WHAT-THE-PLANT3.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2021/11/WHAT-THE-PLANT8.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2021/11/WHAT-THE-PLANT7.jpg)
SHARE YOUR THOUGHTS