
काठमाडौं । सञ्चालनमा रहेका ५ वटा वाणिज्य बैंकको लाभांश घोषणा अहिलेसम्म हुन सकेको छैन । जसमा दोस्रो बजारमा सूचिकृत नभएको राष्ट्रिय वाणिज्य बैंकको लाभांशको चासो लगानीकर्तालाई छैन ।
२७ वटा वाणिज्य बैंकमध्ये अहिलेसम्म २२ वटाले लाभांश घोषणा गरिसकेका छन् । ५ वटा बैंकले अझै लाभांश घोषणा गरेका छैनन् । लाभांश घोषणा गर्न बाँकी रहेका वाणिज्य बैंकमा कृषि विकास बैंक, एनसिसी बैंक, सिभिल बैंक, सेञ्चुरी बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेको छ । वाणिज्य बैंक भने नेप्सेमा सूचिकृत छैन । बैंकले सर्वसाधारण लगानीकर्तालाई लाभांश दिँदैन ।
स्रोतका अनुसार लाभांश घोषणा गर्न बाँकी रहेका बैंकमा एनसिसी बैंकले ८ प्रतिशत लाभांश दिने तयारी गरेको छ । बैंकको गत आर्थिक वर्षको वितरणयोग्य नाफा हेर्दा लाभांश दिन सक्ने क्षमता ६.९२ प्रतिशत रहेको छ । गत आवको वितरणयोग्य नाफामा केही रकम थपेर बैंकले लाभांश घोषणा गर्ने तयारी गरेको छ ।
यस्तै सेञ्चुरी बैंकले करिब ६ प्रतिशत लाभांश घोषणा गर्ने भएको छ । तर बैंकको गत आवको वितरणयोग्य नाफा हेर्दा बैंकको लाभांश दिन सक्ने क्षमता ६.५८ प्रतिशत रहेको छ । बैंकले यो वर्ष जगेडा कोषलाई बलियो बनाउँदै लगानीकर्तालाई लाभांश दिने तयारीमा रहेको छ ।
यस्तै बाँकी रहेका कृषि विकास बैंक र सिभिल बैंकले पनि केही दिनमा लाभांश घोषणा गर्ने तयारी गरेका छन् ।
कृषि विकास बैंकको गत आवको वितरणयोग्य नाफा हेर्दा लाभांश दिने क्षमता १०.५६ प्रतिशत रहेको छ । यस्तै सिभिल बैंकको लाभांश दिन सक्ने क्षमता ५.७६ प्रतिशत रहेको छ ।
बैंकहरुले लाभांश दिन सक्ने क्षमता यति भएपनि यसमा केही तलमाथी भने हुन सक्नेछ ।
SHARE YOUR THOUGHTS