वैदेशिक रोजगारीमा जानेको परिवारको स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएन « Eglish Khabarhub

वैदेशिक रोजगारीमा जानेको परिवारको स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएन



Health (medical) and life insurance for the whole family concept. Practitioner doctor with protective gesture and icon of family.

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले वैदेशिक रोजगारमा जानेले परिवारको स्वास्थ्य बीमा अनिवार्य गर्नुपर्ने योजना अघि सारेको थियो । बोर्डले सो सम्बन्धि कार्यविधि समेत बनाइसेको छ ।

बोर्डले मंसिर महिनादेखि वैदेशिक रोजगारमा जाने व्यक्तिले आफ्नो परिवारको बीमा नगरि रोजगारीका लागि जान नपाउने नियम लागू गर्न खोजेको थियो ।
तर, मंसिर महिना वित्न लाग्दा पनि उक्त कार्यविधि कार्यान्वयनमा आउन भने सकेको छैन ।

कार्यविधि बनाएर वैदेशिक रोजगार विभागका सचिवसँग छलफल भएको तर सचिवको सरुवा भएको कारणले उक्त कार्यविधि कार्यान्वयनमा ल्याउन नसकेको बोर्डले जानकारी दिएको छ ।

बोर्डका सूचना अधिकारी सोभित रिजाजले वैदेशिक रोजगार विभागमा आएका नयाँ सचिवसँग सो कार्यविधिका बारेमा छलफल समेत भइसकेको जानकारी दिए ।


कार्यविधिअनुसार वैदेशिक रोजगारीमा जाने कामदारका परिवार अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्नेछ । कामदारले श्रम स्वीकृति लिने समयमा नै स्वास्थ्य बीमामा आबद्ध भएको प्रमाण पेस गर्नुपर्नेछ ।

कार्यान्वयनमा आएन मोबाइल एप्लिकेसन एप

बीमा कार्यक्रमलाई सहज र पारदर्शी बनाउनका लागि भन्दै स्वास्थ्य बीमा बोर्डले प्रविधिसँग जोडिदै अघि बढ्ने प्रतिवद्धता गर्दै आए पनि प्रविधिसँग नजिक हुन भने सकेको छैन ।

मंसिर महीनादेखि बोर्डले स्वास्थ्य बीमा सेवाको बारेमा आफ्नै एपमार्फत सबै खाले जानकारी दिने गरी काम अघि बढाए पनि कार्यान्वयनमा भने ल्याउन नसकेको हो ।

बोर्डले असोज महिनामै उक्त एप्लिकेसन निमार्णको काम अन्तिम चरणमा पुगेको बताएको थियो । बोर्डले सो एप्लिकेसनलाई मंसिर महीनादेखि प्रयोगमा ल्याउने जनाएको थियो । तर, अझै पनि बोर्डले उक्त एप्लिकेसनलाई कार्यान्वयनमा ल्याउन सकेको छैन ।

बोर्डका अनुसार एप्लिकेसनमार्फत हरेक नागरिकले आफ्नो बीमा रकम कहाँ, कसरी प्रयोग भइरहेकोबारे जानकारी लिन सक्नेछन् । सफ्टवेयरमार्फत आगामी दिनमा मानिसहरूले आफैँ स्वास्थ्य बीमामा आबद्ध हुन सक्नेछन् ।

७६ जिल्ला पुग्यो स्वास्थ्य बीमा

सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम देशका ७६ जिल्लामा विस्तार भएको छ । हालै मात्रै ललितपुर जिल्लामा उक्त कार्यक्रम विस्तार गरिएको स्वास्थ्य बीमा बोर्डले जानकारी दिएको छ ।

बोर्डका सूचना अधिकारी रिजालले ललितपुरका तीन वटा स्थानीय तहमा कार्यक्रम शुचारु भइसेकेको जानकारी दिए ।

२०७२ सालमा शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम देशका ७६ जिल्लामा विस्तार भएको छ । बाँकी रहेको एक जिल्ला काठमडौँमा समेत कार्यक्रम विस्तार गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

बोर्डले काठमाडौँ जिल्लामा सेवा विस्तार गर्नका लागि स्थानीय तहसँग समन्वयन समेत गरिसकेको छ । कार्यक्रमका लागि दर्ता सहयोगी छनौटको प्रक्रिया समेत सम्पन्न गरेको बोर्डको भनाइ छ ।

सम्पूर्ण जनताले सहज रूपमा स्वास्थ्य उपचार पाउनु पर्ने अधिकारलाई सुनिश्चित गर्दै सरकारले स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको हो ।

कुनै पनि नागरिकलाई सामान्य रोगदेखि मुटु, मृगौला, क्यान्सर लगायतका कडा रोग तथा अन्य उपचारमा सहायता होस् भन्ने उद्देश्यका साथ सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

सरकारले ल्याएको यस कार्यक्रमा सबै उमेर समुहका व्यक्ति सहभागी हुन पाउने व्यवस्था छ ।


कार्यक्रममा आवद्ध हुन चाहने पाँच जनासम्मको परिवारले बीमाशुल्कवापत प्रति परिवार प्रत्येक वर्ष ३ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्ने हुन्छ ।

सरकारले अति गरिब, विपन्न,गरीबीको रेखा मुनि रहेका नागरिकलाई बीमाशुल्कमा अनुदानको समेत व्यवस्था गरेको छ । अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखा मुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमाशुल्कबापतको रकम सरकार आफैले तिरिदिने व्यवस्था छ ।

Publish on: