दाबी भुक्तानी वर्ष मनाउँदै बीमा समिति, २१ अर्ब भुक्तानी बाँकी « Eglish Khabarhub

दाबी भुक्तानी वर्ष मनाउँदै बीमा समिति, २१ अर्ब भुक्तानी बाँकी



काठमाडौँ । बीमा समितिले यस वर्षलाई बीमा दाबी भुक्तानी वर्षका रुपमा मनाउने भएको छ ।

समितिले दाबी भुक्तानीलाई सरल, सहज एवम् छिटो, छरितो बनाउनका लागि भन्दै यस वर्षलाई बीमा दाबी भुक्तानी वर्षका रुपमा लिने भएको हो ।

बीमा दाबी भुक्तानीलाई सहज र सरल बनाई बीमा गर्न उत्साहित हुने खालको वातावरण सृजना होस् भन्दै समितिले यस वर्षलाई बीमा दाबी भुक्तानी वर्षका रुपमा मनाउन लागेको हो ।

दाबी भुक्तानीलाई सरल, सहज एव्म छिटो छरितो बनाउँदा बीमा गर्न उत्साहित हुने समितिको दावी छ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिको नयाँ कार्यालय भवनको शिल्यानास कार्यक्रमलाई सम्बोधन गर्र्दै यस वर्षलाई बीमा दाबी भुक्तानी वर्ष मनाउदै आएको जानकारी दिए ।

‘बीमा दाबी भुक्तानीलाई सरल, सहज एवम् छिटो छरितो बनाई जनता स्वयम् बीमा गर्न उत्साहित हुने खालको वातावरण सिर्जना हुनुपर्छ भन्ने मान्यताका साथ समितिले यस वर्ष बीमा दाबी भुक्तानी वर्ष मनाउँदै आएको छ,’ कार्यकारी निर्देशक पौडेलले बताए ।

जसका लागि समितिले बीमा कम्पनीका दाबी भुक्तानी शाखाका प्रमुख, अण्डरराइटिङ्ग विभागका प्रमुखहरूसँग अन्तरक्रिया समेत गर्दै आएको बताएको छ ।

बीमा बजारमा सर्भेयरको अभावका कारण बीमा दाबी भुक्तानीको काम समयमा नै हुन नसकेको भन्दै समितिले सर्भेयरको लाइसेन्स खुलाई आधारभुत तालिम समेत दिँदै आएको जानकारी दिएको छ ।

भविष्यमा भवितव्य क्षति परेमा सोको आर्थिक सुरक्षणका लागि भन्दै बीमा गरिन्छ । तर, कतिपय अवस्थामा बीमा कम्पनीले गर्ने ढिलाईका कारण बीमितले आफुले गरेको बीमाको रकम समयमा नै पाउन सक्दैनन् ।

बीमा समितिले दाबी भुक्तानी प्रक्रियालाई छिटो, छरितो पार्ने उद्देश्यका साथ दाबी भुक्तानी मार्गदर्शन समेत जारी गरि कार्यान्वयनमा ल्याएको छ ।

कम्पनी समक्ष प्रतिवेदन पेश गरेको साधारणतया ३५ दिनभित्र बीमितलाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

दाबी भुक्तानीका लागि बीमितको निवेदन प्राप्त भएमा कम्पनीले आवश्यक जाँचबुझ गर्न घटना स्थलमा सर्भेयर खटाउँछन् ।

बीमा ऐन २०४९ अनुसार कुनै दुर्घटना भएको जानकारी पाउने लगत्तै बीमकले सर्भेयर खटाउनु पर्ने व्यवस्था छ ।

सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्र बीमकको दायित्व निर्धारण गरी बीमकसमक्ष प्रतिवेदन पेस गरेपछि ३५ दिनभित्र बीमितलाई दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

बीमा दाबी भुक्तानीका आधारमा बीमा कम्पनीहरूको बर्गीकरण गरिने


बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा दाबी भुक्तानीका आधारमा बीमा कम्पनीहरुको वर्गिकरण गरिने बताउँदै आएका छन् ।

बीमा कम्पनीका अण्डरराइटिङ्ग विभागका प्रमुखहरूसँग अन्तरक्रिया गर्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानीका आधारमा बीमा कम्पनीहरूको बर्गीकरण गर्न शुरू गरिने बताएका हुन् ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरूबाट बीमा दाबी भुक्तानी नभएको भन्ने धेरै गुनासा संचार माध्यमबाट तथा प्राप्त उजुरी र समितिबाट निरीक्षण गर्दा देखिएको उल्लेख गर्दै आएका छन् ।

दाबी भुक्तानीलाई आधार मानेर मात्र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको म्याद थप लगायतका विषयमा निर्णय गर्ने समेत बताउँदै आएका छन् ।

भुक्तानीलाई सहज पार्न एकै पटक एक हजार बढीलाई सर्भेयरको तालिम
बीमा समितिले पाँच वर्ष पछि बीमा सर्भेयरको लाइसेन्स खुलाएको छ । जसमा १ हजार जना भन्दा धेरैले आवेदन दिएका छन् । आवेदन दिएका सबैलाई बीमा समितिले तालिम दिँदै आएको छ ।

समितिले बीमा क्षेत्रका लागि आवश्यक सङ्ख्यामा बीमा सर्भेयर उपलब्ध गराउने भन्दै बीमा सर्भेयरको आधारभूत तालिम दिन शुरू गरिसकेको छ ।

बीमा कम्पनीमा भुक्तानी हुन बाँकी रहेको रकम फर्छौट गर्नका भन्दै सर्भेयरलाई लाइसेन्स दिनका लागि तालिम दिँदै आएको छ ।

‘यो वर्षलाई दाबी फर्छौट वर्ष बनाउन लाग्दै छौँ । यसै वर्ष बीमा कम्पनीहरुमा भएको दाबी सकभर घटाउने हो,’ समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने ।

नेपालमा ४ सयको हाराहारीमा सर्भेयर छन् । तर, बजारमा सक्रिय सर्भेयरको संख्या भने १ सय हाराहारी मात्रै छ ।

कति छ बीमा कम्पनीमा भुक्तानी हुन बाँकी रकम ?
बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणलाई हेर्दा कम्पनीहरुमा भुक्तानी गर्न बाँकी रकम अर्बौ छ ।

चालु आवको पहिलो त्रैमासको अवधिमा निर्जीवन बीमा कम्पनीहरुमा नै भुक्तानी हुन बाँकी दाबी रकम २१ अर्ब ८१ करोड २० लाख रुपैयाँ छ ।

यता, जीवन बीमा कम्पनीले भने चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार ४ अर्ब १० करोड ७६ लाख रुपैयाँ बराबरको दावी भक्तानी गर्न बाँकी छ ।

१५ जीवन बीमा कम्पनीहरुले सो बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको हो । ४ जीवन बीमा कम्पनीले शतप्रतिशत दाबी भुक्तानी गरेका छन् ।

यस्तै, बीमा क्षेत्रमा कोरोना बीमावापत कम्पनीहरुले बीमितलाई ११ अर्ब रुपैयाँ भुक्तानी गर्नु बाँकी छ ।

Publish on: