भारी हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध, सडकमा १ फिटसम्मको हिउँ जम्मा « Eglish Khabarhub

भारी हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध, सडकमा १ फिटसम्मको हिउँ जम्मा



काठमाडौं । हिजो रातिदेखि शुरु भएको वर्षाका क्रममा भारी हिमपात भएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।

राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि पूर्ण रुपमा ठप्प रहेको इलका प्रहरी कार्यालय पालुङले जानकारी गराएको छ ।

गए रातिदेखि बाक्लो हिउँ परेपछि यातायात अवरुद्ध भएको प्रहरी कार्यालयका एक प्रहरी जवानले बताए । ती जवानका अनुसार सडकमा १ फिटसम्मको हिउँ जम्मा भएको छ । ‘अहिले पनि पानी र हिमपात परिरहेको छ,’ उनले भने ।

उनका अनुसार उक्त स्थानमा अहिले काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । ‘मौसम सुधार हुने देखिएको छैन,’ उनले भने, ‘यो बाटो हुँदै यात्रा गर्नेहरुले अन्य वैकल्पिक बाटो भएर यात्रा गर्दा राम्रो हुन्छ ।’

सडक डिभिजन कार्यालयले साथ दिए आज दिउँसो अपराह्नसम्ममा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको उनले क्लिकमाण्डूलाई बताए ।

Publish on: