![](https://internal.appharu.com/wp-content/uploads/2022/01/271179605_5127084877324221_2893304811141573555_n-768x561.jpg)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
एमालेले संसद निरन्तर अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनु भएका अध्यक्ष ओलीलाई भेटन शनिबार बिहान बालकोट पुगेका हुन ।
करिव एक घण्टा भेटवार्ता भएपछि प्रधानमन्त्री देउवालाई विदाई गर्न निस्कुन भएका अध्यक्ष ओलीले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कुराकानी राम्रो भएको बताए ।
‘उहाँसँग कुराकानी भयो, सद्धियो नि त । कुराकानी राम्रो भयो दुई जनाबीच,’ ओलीले सञ्चारकर्मीसँग भने ।
एमालेले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको, पार्टीले निश्कासन गरेका सांसदहरुलाई सांसद पद नरहेको सूचना सभामुख अग्नीप्रसाद सापकोटाले नटाँसेकोमा आपत्ति जनाउँदै संसद बैठक निरन्तर अवरुद्ध पार्दै आएको छ ।
सोही विषयलाई लिएर एमालेले सर्वदलीय बैठक समेत बहिष्कार गर्दै आएपछि सत्तारुढ दलको शुक्रबार (हिजो) बसेको बैठकले ओलीलाई मनाउने जिम्मा काँग्रेस सभपति समेत रहनु भएका प्रधानमन्त्री देउवालाई दिएको थियो ।
प्रधानमन्त्री देउवामाथि एमसीसी सम्झौंता संसदबाट पारित गराउनुपर्ने दवाव पनि छ । तर ती विषयहरुमा छलफल गर्न बोलाइएको बैठकमा एमालेले सहभागी हुन नसक्ने अडान राख्दै आएको छ ।
एमालेले आफ्नो पार्टीको संसदीय दलले निश्काशन गरेका माधव नेपालसहितका १४ जना संसदमा आएसम्म संसद अवरोधलाई निरन्तरता दिने अडान राख्दै आएको छ । प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवादनै टुटेको अवस्थामा प्रधानमन्त्री देउवा ओलीलाई भेटन उहाँको निवास बालकोट पुगेका हुन् ।
SHARE YOUR THOUGHTS