मेन स्टोरी लेफ्ट

पर्यटन प्रर्वद्धनमा सहकार्य गर्न श्रीलङकासँग चेम्बरको प्रस्ताव



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले सार्क सदस्य राष्ट्र श्रीलंकासँग पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न प्रस्ताव गरेको छ ।

नेपालका लागि श्रीलङकन राजदूत हिमाली शुभासिनी अरुनातिलकासँग जमलस्थित चेम्बर भवनमा शुक्रबार भएको भेटवार्तामा अध्यक्ष राजेन्द्र मल्लले पर्यटन सेवामा सहकार्यमार्फत् दुबै मुलुकले आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए ।

आगामी बुद्ध जयन्तीको अवसरमा नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उडानको शुरु गर्न लागेको भन्दै अध्यक्ष मल्लले सिधा हवाई सम्पर्क बढाउन आग्रह गरे ।

‘नेपाल र श्रीलका आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले पनि समान छन् । श्रीलंकका पर्यटक सिधै भैरहवा विमानस्थलमा आएर नेपालको महत्वपूर्ण धार्मिकस्थल लुम्बिनीमा भ्रमण गर्न सक्छन्,’ उनले भने ।

काठमाडौं–कोलम्बोको हवाई क्षमता बिस्तार गरेर दुबै मुलुकले अन्य व्यापारिक लाभ लिन सक्ने पनि अध्यक्ष मल्लले बताए ।

पछिल्लो समय नेपालीहरु पनि घुम्नका लागि विदेश जाने क्रम बढेको भन्दै अध्यक्ष मल्लले त्यसको लाभ श्रीलंकाले लिन सक्ने बताए । नेपाल र श्रीलंकाबीच ६५ वर्ष लामो सम्वन्धलाई आर्थिक दृष्टिकोणले पनि परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

यसैगरी नेपालको जलविद्युत, पूर्वाधार तथा सेवा क्षेत्रमा लगानीका लागि अध्यक्ष मल्लले राजदूत हिमालीसँग आग्रह गरे ।

कोभिडका कारण आक्रान्त दुबै मुलुकको अर्थतन्त्र सुधारका लागि व्यवसायिक क्षेत्रमा सहकार्यमार्फत् दुबै मुलुकले आर्थिक लाभ लिन सकिने भन्दै अध्यक्ष मल्लले निजी क्षेत्रबीच उच्चस्तरीय व्यवसायिक भ्रमणको व्यवस्था गर्न राजदूत हिमालीसँग आग्रह समेत गरेका छन् ।

नेपाल र श्रीलंकाबीच एक अर्काका देशमा उत्पादन भएर निर्यात हुने सम्भावनायुक्त वस्तुहरुको पहिचान गरी सीधा हवाई सेवामार्फत् व्यापार वृद्धि गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

जवाफमा राजदूत हिमालीले नेपाल र श्रीलंकाबीचको व्यापार सहजिकरणमार्फत् आर्थिक समृद्धिका लागि आफूले पहल गर्ने बताइन् । पर्यटन सेवा बिस्तार गरेर दुबै मुलुकले आर्थिक लाभ लिन सक्ने भन्दै उनले नेपाल र श्रीलङकाबीच हवाई सेवा बिस्तार गर्न पहल गर्ने प्रतिवद्धता जनाएकी छन् ।

नेपालमा श्रीलङकाले हाल पूर्वाधार, जलविद्युत्, सेवा क्षेत्रमा लगानी गरिरहेको र थप लगानीका लागि उपयुक्त वातावरण खोजिरहेको हिमालीको भनाइ छ ।