
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था पारदर्शी र व्यवस्थित गर्ने उद्घोष गरेका छन् ।
स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूसँग मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले स्वास्थ्य संस्थाको सूचीकरण, नविकरण, र अनुगमन तथा निरिक्षण सम्बन्धी कार्यलाई प्रभावकारी, पारदर्शी, नियमित र व्यवस्थित गरिने बताएका हुन् ।
विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य र सुरक्षाप्रति सरकार गम्भीर रहेको भन्दै मन्त्री श्रेष्ठले नक्कली स्वास्थ्य परीक्षण रिपोर्ट बनाउनेदेखि सरकारले तोकेको मापदण्ड नपुगेका स्वास्थ्य संस्थामार्फत् रिपोर्ट बनाउने प्रवृति अन्त्य गरिने बताए ।
वैदेशिक रोजगारका समग्र चरण तथा प्रक्रियाहरुलाई पारदर्शी, व्यवस्थित र सुरक्षित बनाउने ध्येयका साथ आफ्नो नेतृत्वमा मन्त्रालयले काम गरिरहेको उनले जिकिर गरे ।
वैदेशिक रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न निर्धारण गरिएको मूल्य समयानुकुल समायोजनका लागि मन्त्रालय तयार रहेको उनले बताए ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले गन्तव्य मुलुकमा गइसकेपछि श्रमिकलाई निम्तन सक्ने स्वास्थ्य समस्याबाट बच्न नयाँ मापदण्ड बनाएर कडाइका साथ अनुगमन गर्ने मन्त्रालयको योजना रहेको बताए ।
सचिव अर्यालले स्वदेशका अस्पताल तथा स्वास्थ्य संस्था मार्फत बनाइएको स्वास्थ्य परीक्षण रिपोर्ट गलत भएका कारण श्रमिक विदेश पुगेर पुनः स्वास्थ्य परीक्षण गर्दा ‘अयोग्य’ भएर फर्किनुपरे सम्वन्धित संस्थालाई कारवाही गरिने जिकिर गरे ।
मन्त्रालयका सल्लाहकार डा. केशव बस्यालले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्यका कारणबाट सिर्जना हुने समस्या न्यूनीकरण गर्न सम्वद्ध मुलुकको सामाजिक–आर्थिक तथा स्वास्थ्य चुनौतिबारे जानकारी दिइ सोही अनुरुपको मापदण्ड कार्यन्वयन गर्नुपर्ने बताए ।
SHARE YOUR THOUGHTS