काठमाडौं । कोरोना महामारीका कारण उपभोक्ताको आकर्षण बढेको विद्युतीय भुक्तानीको कारोबारमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन महिनामा कनेक्ट आइपीएस, वालेट र क्यूआर कोड स्क्यान गरी हुने भुक्तानी हालसम्मै बढी हो ।
केन्द्रीय बैंकले विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार उल्लेखनीय बढेको बताएको छ ।
तथ्यांक अनुसार कनेक्ट आइपीएसबाट फागुन महिनामा मात्रै २ खर्ब ७३ अर्ब ८५ करोड ८० लाख रुपैयाँ कारोबार भएको छ । हालसम्म कुनै पनि एउटा महिनामा मात्रै यो सबैभन्दा धेरै कारोबार रकम हो ।
साथै, वालेटबाट हुने कारोबारमा पनि फागुन महिनामा नयाँ रेकर्ड कायम भएको छ । तथ्यांक अनुसार फागुन महिनामा वालेटबाट मात्रै १६ अर्ब ५९ करोड ९० लाख रुपैयाँ भुक्तानी भएको छ । यसअघि पुस महिनामा हालसम्मै सबैभन्दा धेरै १६ अर्ब २७ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
केन्द्रीय बैंकका अनुसार क्यूआर कोड स्क्यान गरी हुने कारोबारमा समेत नयाँ रेकर्ड कायम भएको छ । फागुन महिनामा मात्रै उपभोक्ताले क्यूआर कोड स्क्यान गरी ७ अर्ब ७६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि माघ महिनामा ६ अर्ब ८९ करोड २० लाख रुपैयाँ कारोबार भएको थियो ।
SHARE YOUR THOUGHTS