विदेशी विनिमय सञ्चिति २ खर्ब ३१ अर्बले घट्यो, ६.६ महिनाको वस्तु तथा सेवा आयत गर्न पुग्ने « Eglish Khabarhub

विदेशी विनिमय सञ्चिति २ खर्ब ३१ अर्बले घट्यो, ६.६ महिनाको वस्तु तथा सेवा आयत गर्न पुग्ने



काठमाडौं । यो आर्थिक वर्षको शुरुदेखि नै लगातारजसो घट्दै आएको विदेशी मुद्रा सञ्चिति गत चैत मसान्तसम्म आइपुग्दा १६.५ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ०७८ चैत मसान्तको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनका अनुसार अहिले नेपालसँग ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति छ । जबकी, गत ०७८ असार मसान्तमा यस्तो सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो । पछिल्लो ९ महिनामा विदेशी मुद्राको सञ्चिति २ खर्ब ३१ अर्ब ११ करोड रुपैयाँले घटेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत मसान्तमा १८.२ प्रतिशतले कमी आई ९ अर्ब ६१ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा २०७८ चैत मसान्तमा १७.९ प्रतिशतले कमी आई १० खर्ब २१ अर्ब ४५ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत मसान्तमा ५.१ प्रतिशतले कमी आई १ खर्ब ४६ अर्ब ४८ करोड कायम भएको छ । २०७८ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७८ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४.१ प्रतिशत, ५५.२ प्रतिशत र २१.९ प्रतिशत रहेका छन्। २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

Publish on: