![](https://internal.appharu.com/wp-content/uploads/2018/07/dinking-water-project.jpg)
काठमाडौं । सरकारले देशभरका सबै ठाउँमा विजुली र खानेपानी पुगाउने योजना बनाएको छ ।
नीति तथा कार्यक्रममार्फत् सरकारले ४ लाख ६६ हजार जनसंख्यालाई मध्यम र उच्चस्तरको खानेपानी सुविधा र ‘एक घर एक धारा’ र २५ हजार घरधुरीमा विजुली पुर्याउने घोषणा गरेको छ ।
स्रोतका अनुसार राष्ट्रिय योजना आयोगले देशभर खानेपानी र बिजुली सेवा दिने विषयमा अध्ययन समेत गरेको थियो ।
विश्व बैंकले खानेपानी र बिजुली सेवा विस्तारमा सहयोग गर्ने आश्वासन दिएपनि सरकारले नीति तथा कार्यक्रममा बिजुली र खानेपानी पुर्याउने नीति राखेको हो ।
खानेपानी आयोजनामा जनश्रमदानसम्बन्धी व्यवस्थाको पुनरावलोकन, दिगो सञ्चालन तथा मर्मतको व्यवस्था गर्ने सरकारको योजना छ ।
नयाँ कार्यक्रमबाट ४ लाख ६६ हजार जनसंख्यालाई मध्यम र उच्चस्तरको खानेपानी सेवा उपलब्ध गराउने समेत सरकारको तयारी छ ।
यस्तै, आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गर्न विद्युत् उत्पादन, प्रसारण तथा वितरणका क्षेत्रमा लगानी बढाउने नीति सरकारले लिएको छ ।
नीति तथा कार्यक्रममा आगामी वर्ष राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रमा लघु तथा साना जलविद्युत् र सौर्य उर्जाबाट थप २५ हजार घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउने उल्लेख छ ।
यो कार्यक्रम कार्यन्वयन गर्न समेत सरकारले विश्व बैंकबाट सहयोग लिन लागेको हो । सबै नेपालीलाई उर्जाको पहुँच सुनिश्चित गर्न विपन्न वर्गका लागि निःशुल्क विद्युतीय मिटर दिने सरकारको योजना छ ।
नेपाल विद्युत प्राधिकरणका अधिकारी सरकारले बजेट उपलब्ध गराए देशभर विजुली पुर्याउन सकिने बताउँछन् ।
SHARE YOUR THOUGHTS