
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थालेको बताए ।
बुधवार अखिल नेपाल किसान राष्ट्रिय महासंघले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल धान बालिका लागि उपयुक्त स्थान रहेको भन्दै यसलाई दोब्बर गुणाले वृद्धि गर्नुपर्नेमा जोड दिए ।
उनले नेपाल कृषिप्रधान देश भएपनि खाद्यान्नहरु आयात गर्नुपर्ने अवस्था रहेको भन्दै यसलाई बिस्थापित गरी नेपालमा उत्पादकत्व र उत्पादन बढाउन जरुरी रहेको बताए ।
अध्यक्ष ओलीले सहकारीका माध्यमहरु अपनाएर र खण्डीकरणतर्फ होइन, चाक्लाबन्दी र ठूलो मात्रामा कुनैपनि चिजको उत्पादन गर्नेतिर लाग्नुपर्ने बताए ।
उनले धान खेतीलाई नेपालमा बचाउन जरुरी रहेको भन्दै अहिले धेरै ठाउँमा अनावश्यक ढंगले अव्यवस्थित बस्ती, प्लटिङ सिस्टम र घडेरी बनाउने कुराले अन्नबाली उत्पादन बढाउने कुरामा कमी आइरहेको बताए ।
‘धान बाली नेपालका लागि अत्यन्त उपयुक्त छ । यसलाई अझै केही गुणा वृद्धि गर्न सक्नुपर्छ । दोब्बरभन्दा बढी उत्पादन वृद्धि गर्नसक्छौँ । यसका निम्ति उत्पादन र उत्पादकत्व बढाउन जरुरी छ । यसका निम्ति सहकारीका माध्यमहरु र अरु माध्यमहरुबाट अब हामीले खण्डीकरणतर्फ होइन, चाक्लाबन्दी र ठूलो मात्रामा कुनैपनि चिजको उत्पादन गर्नेतिर लाग्नुपर्छ । त्यसो गरे हामी आत्मनिर्भर पनि हुन्छौँ, निर्यात पनि गर्न सकिन्छ,’ओलीले भने ।
अहिले धेरै ठाउँमा अनावश्यक ढंगले बस्ती कहाँ बसाउने, खेती कहाँ गर्ने ? भन्ने कुरा ध्यान पुगेको छैन । प्लटिङ सिस्टम आदि, इत्यादिले धान खेती वा अन्न बाली लगाउने ठाउँ, कहाँ घडेरी बनाउने, कहाँ बस्ती बसाउनु पर्ने, कहाँ शहर बनाउनु पर्ने, कहाँ खेती लगाउने भन्ने कुराहरुमा गोलमाल भइरहेको भन्दै त्यसलाई रोक्न ओलीले माग गरे ।
अध्यक्ष ओलीले कृषिप्रधान देशले खाद्यान्नहरु बढी मात्रामा आयात गर्नु अशोभनीय भएको बताउनु भयो । उहाँले धान, मकै, गहुँ जस्ता खाद्यवस्तु पनि बाहिरबाट आयात गर्नु दुःखदर भएको बताए ।
‘आज धान, चामल नै असाधारण ढंगले बाहिरबाट आयात गर्नुपरेको छ । गहुँ तथा मकै आयात गर्नुपर्छ,यो मसस्या हाम्रो लापरवाही, असावधानी र प्रयासहरुको कमीका कारण भएको हो,’ओलीले भने ।
असावधानी र लापरवाहीलाई सच्याएर खाली जमिन राख्न नदिने हो भने कृषिलाई आधुनिकीतर्फ बढाएर व्यवसायीकीकरण गर्दै उत्पादकत्व वृद्धि गर्न सकिने ओलीले बताए ।
SHARE YOUR THOUGHTS