![](https://internal.appharu.com/wp-content/uploads/2022/07/Gold-768x427.png)
काठमाडौं । सरकारले सुनमा भन्सार महशुल बढाउने तयारी गरेको छ ।
भारत सरकारले सुनमा भन्सार बढाएसँगै नेपालमा पनि भन्सार महशुल बढाउने विषयमा अर्थमन्त्रालयले छलफल गरेको छ ।
भारतले भन्सार बढाएपछि नेपालभन्दा भारतमा सुन सस्तो हुने र नेपालबाट तस्करी हुने सम्भावना भएकाले भन्सार बढाउने तयारी भएको अर्थतन्त्रालय स्रोतले जानकारी दिएको छ ।
गत वर्ष भारतमा भन्दा नेपालमा चाँदी सस्तो भएपछि नेपालबाट चाँदी तस्करी भएको थियो ।
त्यसरी नै सुन पनि तस्करीको जोखिम हुने भएसँगै भारत बराबर नै सुनको भन्सार बढाउने
तयारी गरिएको हो ।
गत शुक्रबार भारत सरकारले सुन आयातमा लाग्दै आएको भन्सार कर बढाएको थियो । भारत सरकारले ७.५ प्रतिशतबाट बढाएर भन्सार महशुल १२.५ प्रतिशत बनाएको हो । साथै भारतमा यसका अतिरिक्त ३ प्रतिशत गुड्स एण्ड सर्भिस ट्याक्स (जीएसटी) समेत लाग्छ ।
हाल नेपालमा प्रति १० ग्राममा सरकारले ८ हजार ५०० रुपैयाँ भन्सार महशुल लाग्ने व्यवस्था छ ।
सुनको मूल्य नेपाली बजारमा सस्तो र भारतीय बजारमा महंगो हुँदा अवैध सुनको कारोबार बढ्न सक्ने नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यको भनाइ छ ।
विश्वको दोस्रो ठूलो सुन खपत हुने भारतमा भन्सार बढाएसँगै माग कम हुने त्यहाँको सरकारको अपेक्षा छ ।
भारतले देशमा खपत हुने सुनको ठूलो हिस्सा आयातमार्फत् पूरा गर्दै आएको छ । आयातमा निर्भर रहेको अवस्थामा भन्सार कर बढाउँदा यसले भारतीय मुद्रा थप अबमूल्य हुने विश्लेषकहरुको भनाइ छ ।
गत मे महिनामा व्यापार घाटा हालसम्मै उच्च २४.३ बिलियन डलर पुगेपछि आयात हुने वस्तुमा भारत सरकारले सतर्क बनेको थियो ।
सुन आयातमा अत्यधिक विदेशी मुद्रा खर्च हुन थालेपछि भारत सरकारले सुन आयात, चालु खाता घाटाबारे सुक्ष्म निगरानी बढाएको छ ।
तथ्यांक अनुसार भारतले गत वर्षको तुलनमा सुनमा आयातमा मात्रै ९ गुणा बढी ७.७ बिलियन डलर बढी खर्च गरिसकेको छ । जसले व्यापार घाटा बढाएको छ ।
वर्ल्ड गोल्ड काउन्सिल (डब्ल्यूजीसी)का अनुसार सन् २०२१ मा भारत विश्वको चौथो ठूलो सुन रिसाइकल गर्ने देश बनेको छ । जसमा भारतले उक्त वर्ष मात्रै ७५ टन सुन रिसाइकल गरेको थियो । जुन विश्वको ६.५ प्रतिशत हिस्सा हो ।
SHARE YOUR THOUGHTS