मन्त्रिपरिषद्को बैठक बस्दै, अर्थसचिव को बन्ला ? « Eglish Khabarhub

मन्त्रिपरिषद्को बैठक बस्दै, अर्थसचिव को बन्ला ?



काठमाडौं । अर्थमन्त्रीमा जनार्दन शर्मा पुन: नियुक्त भएपछि अर्थ मन्त्रालयका सचिव मधु मरासिनी विदामा बसेका छन् ।

सचिव मरासिनीले अर्थमन्त्री शर्मासँग काम गर्न मन्त्रालय नफर्किने सन्देश मुख्यसचिव शंकरदास बैरागीमार्फत् प्रधानमन्त्री कार्यालयमा पुर्याएको स्रोतको दाबी छ ।

‘मलाई जहाँ सरुवा गर्दा पनि हुन्छ । तर, शर्मासँग काम गर्न अर्थ मन्त्रालय जादिन,’ स्रोतका अनुसार मरासिनीले मुख्य सचिव बैरागीसँग भनेको थिए, ‘शर्माले मन्त्रालयको नेतृत्व गरेको अवस्थामा मेरा सरुवा नहुँदासम्म म काममा फर्किदैन । तपाईंलाई लागेको उपयुक्त जिम्मेवारी दिन पहल गर्नु होला ।’

आइतबार शर्मा अर्थ मन्त्रालयमा फर्किदैछन् भन्ने जानकारी पाएपछि अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाको कार्यक्रममा भाग लिन पोखरा पुगेका सचिव मरासिनी मुख्यसचिव बैरागीसँग शुक्रबारसम्मको विदा स्वीकृत गराएर पोखरामै बसेका छन् ।

बिहीबार दिँउसो १ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले अर्थ सचिव मरासिनीको सरुवा गर्न लागेको स्रोतले जानकारी दिएको छ । केही व्यक्तिले मरासिनीसँग अर्थमन्त्री शर्मालाई सहयोग गर्ने गरी काममा फर्किन समेत भनेका थिए ।

तर, मरासिनीले निकटस्थहरुसँग आफु कुनै पनि हालतमा शर्मासँग काम गर्न अर्थ मन्त्रालय नफर्किने बताएका छन् । जसले गर्दा सरकारले मरासिनीलाई सरुवा गर्ने तयारी गरेको हो ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, उद्योग सचिव अर्जुन पोखरेल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी र राजस्व सचिव कुष्णहरी पुष्कर कर्णले अर्थ सचिव बन्न प्रयास गरिरहेको स्रोतको दाबी छ ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायाले पनि अर्थ सचिव बन्ने प्रयास गरिरहेका छन् ।

अर्थसचिव बन्ने चर्चामा रहेका अर्याल, भण्डारी, राया र पोखरेलसँग विगतमा पनि अर्थ मन्त्रालयमा काम गरेको अनुभव छ । चारैजना सचिवले अर्थ मन्त्रालय अन्तर्गत काम गरेकाले अर्थसचिव बन्न सक्ने आंकलन गरिएको छ ।

राजस्व सचिव कर्णसँग भने विगतमा अर्थमन्त्रालयमा काम गरेको अनुभव थिएन् । कर्ण राजस्व सचिवको रुपमा अर्थ मन्त्रालयमा भित्रिएका थिए ।

कानूनमा अर्थ सचिव बन्न अर्थमन्त्रालयमा काम गरेको हुनु पर्ने व्यवस्था नभएको सरकारले सचिव मध्येबाट आफुले चालेको व्यक्तिलाई अर्थसचिवको जिम्मेवारी भने दिन सक्छ ।

माओबादी नेता अर्थमन्त्री भएकाले प्रधानमन्त्रीले राजेका व्यक्तिलाई अर्थसचिवको जिम्मेवारी दिइने सम्भावना छ ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी करिब ९ महिना प्रधानमन्त्री शेर बहादुर देउवाले सम्हाल्दा प्रधानमन्त्री निकट व्यक्तिसँग सुमधुर सम्बन्ध बनाएका उद्योग सचिव पोखरेलले अर्थ सचिवको जिम्मेवारी पाउने सम्भावना रहेको स्रोतको दाबी छ ।

‘अहिले सम्म पोखरेल अर्थसचिव बन्ने निश्चित जस्तै छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो,‘अन्तिम अवस्थामा परिवर्तन भयो भने केही भन्न सकिन्न ।’

उद्योग सचिव पोखरेल भने आफुले अर्थसचिव बन्नु पर्यो भनेर कतै लबिङ नगरेको दाबी गर्छन् ।

‘मैले मलाई यो जिम्मेवारी दिनु पर्यो भनेर कसैलाई भनेको छैन अर्का, हामीले मागेर कुनै जिम्मेवारी पाउने पनि होइन,’ पोखरेलले क्लिकमाण्डूसँग भने, ‘तर, म सरकारले दिने हरेक जिम्मेवारी पुरा गर्न भने म तयार छुँ ।’

निर्वाचन घोषणा हुँदै

बिहीबार बस्ने मन्त्रीपरिषदको बैठकले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा गर्न लागेको छ ।

बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ दल बीच मंसिर ४ गते एकै चरणमा प्रदेश र संघको निर्वाचन गर्ने सहमति भएको थियो ।

निर्वाचन आयोग गत असारमै निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।

आयोगले आफुलाई १२० दिन आवश्यक गर्ने भन्दै मंसिर ४ गते निर्वाचन गर्ने भए साउन ४ गते नै घोषणा गर्न आग्रह गरेको थियो ।

आयोगले १२० दिन भन्दा कम समय भएपनि आफुहरु मंसिर ४ निर्वाचन गराउन तयार रहेको बताउँदै आएको छ ।

Publish on: