जापान, क्यानडा, भारत र हङकङले किन्छन् नेपालको घ्यू « Eglish Khabarhub

जापान, क्यानडा, भारत र हङकङले किन्छन् नेपालको घ्यू



काठमाडौं । देश भित्रिने विदेशी मुद्राको तुलनामा देशबाट बाहिरिने विदेशी मुद्रा बढी भएपछि नेपालको अर्थतन्त्र संकटको डिलमा छ । विदेशी मुद्रा जोगाउन कतिपय वस्तुहरुको आयातमा प्रतिवन्ध लगाइएको छ भने कतिपयमा कडाइ गरिएको छ ।

विदेशी मुद्रा भित्र्याउने सबैभन्दा उपयुक्त बिकल्प हो निर्यात । तर, हाम्रो देशले अपेक्षित निर्यात गर्न सकिरहेको छैन ।

निर्यातका अथाह संभावनाहरु हुँदाहुँदै पनि नेपालीहरु त्यसका लागि मिहेनत गर्दैनन् । वैदेशिक रोजगारीमा गएका आफन्तले पठाएको रेमिट्यान्सले विदेशी विदेशबाट सामान किनेर उपभोग गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । जुन देशको अर्थतन्त्रका लागि निकै घातक भइरहेको छ ।

नेपालबाट धेरै वस्तुहरुको निर्यात संभव छ । तर, त्यसका लागि तपाईंहामीले आफ्नै गाउँघरमा बसेर परिश्रम भने गर्नुपर्छ ।

यी नै संभावनाका अनेकौं क्षेत्रहरुमध्ये गाईभैंसीको घ्यू पनि एउटा हो । देशमा ठूलो परिणाममा घ्यू उत्पादन गर्ने हो भने विदेशीलाई बिक्री गरेर विदेशी मुद्रा आर्जन गर्नसक्ने ठाउँ छ ।

गत आर्थिक वर्षमात्रै नेपालले २१ हजार ६ सय २९ किलो घ्यू विदेश निर्यात गरेर १ करोड ९३ लाख ३ सय ५२ रुपैयाँ आम्दानी गरेको छ ।

नेपालसँग जापान, भारत, क्यानडा र हङकङले घ्यू किनेर खान्छन् । सबैभन्दा धेरै भने जापानले २० हजार ३ सय ५ किलो घ्यू १ करोड ८७ लाख ७९ हजार रुपैयाँमा किनेको छ ।

त्यसैगरी, दोस्रोमा भारतले ३ सय ३८ किलो घ्यू ३९ लाख २० हजार रुपैयाँमा किनेको छ ।

त्यस्तै, क्यानडाले ४ सय ६० किलो घ्यू १९ लाख रुपैयाँमा किनेको छ । सबैभन्दा कम हङकङले २० हजार रुपैयाँमा २६ किलो घ्यू किनेको छ ।

उत्पादन गर्न सक्ने हो भने बजार पाउनका लागि समस्या नभएको घ्यू निर्यातकर्ताहरु बताउँछन् ।

Publish on: